काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी गठबन्धनबाट अलगिने निर्णयमा पुगेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको बैठकमा अबदेखि आफू विपक्षी गठबन्धनमा नरहने जानकारी गराएका छन्।
विपक्षी गठबन्धन आबद्ध दलको कोटेश्वरमा भएको बैठकमा नेता नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह गठबन्धनमा आबद्ध भएको र प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएकाले आफू गठबन्धनबाट बाहिरिने सुनाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
‘राष्ट्रिय सहमतिका लागि तपाईंहरूको प्रयत्न रहिरहोस्’, नेपालको भनाई उद्धृत गर्दै ती नेताले भने,‘संविधान र लोकतन्त्रको लडाइँमा मेरो सधैं समर्थन हुनेछ।’
नेपालले अब आफू एमाले एकताका लागि कार्यदलले गरेको सहमति अनुसार अघि बढ्ने भन्दै गठबन्धनबाट बाहिरिने निर्णय गरेको सुनाएका हुन्।
विपक्षी गठबन्धनको आजको बैठकमा नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधैं सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न, सक्षम सरकार बनाउन र सबैलाई समेटेर जान आग्रह गर्दै उनले देउवालाई शुभकामना दिएका थिए।
तपाईको प्रतिक्रिया !