काठमाडौं : सर्वोच्च अदालतको आदेशपछि कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकार बनाउन लाग्ने निर्णय गरेको छ ।
सानो मन्त्रिपरिषद् भोलि बनाउने र पछि थप गर्दै जाने बैठकले निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।
‘सानो मन्त्रिपरिषद् भोलि बनाउने र पछि थप गर्दै लैजाने कुरा भएको छ’, छलफलपछि खाँणले भने, ‘भोलि बिहान फेरि शीर्ष नेताको बैठक बस्नेछ।’
यस्तै बैठकले अदालतको फैसलामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ। देउवाको नेतृत्वमा गठन हुने नयाँ मन्त्रीमण्डलमा माओवादी र उपेन्द्र यादव पक्ष जसपमा समेत सामेल हुनेछ । देउवाले मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने बताइएको छ ।
उनले भोलि साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने देउवाको सचिवालयले जानकारी दिएको छ।
स्रोतका अनुसार सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै राष्ट्रपति कार्यालयले शपथको तयारी अघि बढाएको हो।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्नुका साथै देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ।
देउवाले संविधानको धारा ७६ (५) बमोजिम बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी गरेपनि राष्ट्रपतिले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
त्यसविरुद्ध १४६ जना सांसद सर्वोच्च अदालत पुगेका थिए। उक्त मुद्दामा सर्वोच्चले फैसला सुनाएको हो।
साथै सर्वोच्चले धारा ७६ (५) मा दलीय ह्वीप नलाग्ने फैसलासमेत सुनाएको छ।
तपाईको प्रतिक्रिया !