पाँचौ पटक प्रधानमन्त्री नियुक्त भए शेरबहादुर, शपथको तयारी शुरु

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी दिए ।

‘सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपतिज्यूले देउवाजीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ,’ उनले भने, ‘उहाँको शपथ आजै गराउने तयारी भइरहेको छ ।’

यसअघि सोमाबार सर्वोच्च अदालतले देउवालाई मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिको कार्यालयका नाममा परमादेश जारी गरेको थियो । यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्।

उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए।

त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए।

उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए।

प्रतिक्रिया
संबन्धित समाचार