दीर्घकालीन सहकार्यमा जुट्दै सत्ता गठबन्धन

काठमाडौँ, २२ कात्तिक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु । तस्बिर ः रोशन सापकोटा, रासस

फाइल तस्बिर

काठमाण्डाै – सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पुर्याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बेलुका बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय सभा चुनाव र उपचुनावसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको पनि श्रेष्ठले जानकारी दिनुभयो । सरकारको काम प्रभावकारी बनाउन समन्वय समिति गठनदेखि राष्ट्रिय सभा चुनाव तथा प्रतिनिधि सभा र प्रदेश सभा उपचुनावसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको हो।

उहाँका अनुसार यो निर्णयले गठबन्धन दीर्घकालीन सहकार्यमा प्रवेश गरेको छ । सङ्घीय र सातै प्रदेशमा गठबन्धन सरकारपछि पाँच दलले राष्ट्रिय सभा चुनाव र उपचुनावतिर ध्यान दिएका हुन् । माघ दोस्रो हप्ताभित्र राष्ट्रिय सभामा १९ सांसदको चुनाव गर्नुपर्नेछ । प्रतिनिधि सभा र प्रदेश सभाका २२ सिट खाली छन् ।

निर्वाचन आयोगले रिक्त रहेका प्रतिनिधि सभाका चार र प्रदेश सभाका १८ सिटमा उपचुनावको मिति तोक्न सरकारसँग आग्रह गरिसकेको छ  । सरकार सञ्चालनका लागि समन्वय समिति गठन गर्दै गठबन्धनलाई उपचुनाव र राष्ट्रिय सभा चुनावसम्म लैजाने सहमति भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । चैतमा पालिकाको चुनाव र ‘अर्ली इलेक्सन’को चर्चा भइरहँदा गठबन्धन दलहरूले सहकार्यको नीति लिएका हुन् ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले आउँदाे चुनावसम्म गठबन्धनलाई निरन्तरता दिने प्रस्ताव गरेका छन् । सरकारको नेतृत्व गरेको कांग्रेसले भने यसबारे ठोस धारणा सार्वजनिक गरेको छैन । पाँच दलीय गठबन्धनमा रहेको जनमोर्चा सरकारमा भने सहभागी छैन ।

सत्ता गठबन्धनले सरकार सञ्चालन र चुनावमा सहयोगीका रूपमा काम गर्न ११ सदस्यीय समन्वय समिति बनाएको र नेतृत्व दुई/दुई महिनामा हेरफेर हुने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो ।

सोमवार गठन भएको समितिको नेतृत्व हरेक दुई महिनामा आलोपालो गर्नेसमेत निर्णय भएको छ । जसअनुसार पहिलो पटक समितिको नेतृत्वको कांग्रेस नेता पौडेलले नेतृत्व गर्नुहुनेछ ।

यस्तै, समितिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सदस्यमा छन् । राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहेका छन् ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीले थप एक सदस्यको नाम पार्टीमा सल्लाह गरेर दिने बताएका छन् ।  समन्वय समितिले सरकारको काममा हस्तक्षेप नगरे पनि विभिन्न विषयमा सुझाव दिनेछ । गठबन्धन सरकारले कोभिड–१९ को महामारीमा नागरिकको जीवन रक्षा गर्ने, संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ ।

बैठकमा न्यायालयमा देखिएको गतिरोध र विभिन्न देशमा रिक्त राजदूत नियुक्तिका विषयमा कुनै छलफल नभएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया
संबन्धित समाचार