सागर वि.क.
कपिलवस्तु, मंसिर ३
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ओदारीले ३ दिने व्यवसायिक बाख्रा पालन सम्बन्धि तालिम समापन गरेको छ । बाणगंगाको ठाकुरापुरमा अवस्थित पिस हिमालयन रिसोर्टमा मंसिर १ देखि मंसिर ३ गते शुक्रबार (आज) सम्म संचालन गरिएको तालिम एक कार्यक्रमका बीच समापन गरिएको हो ।
तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नं.११ का वडाध्यक्ष सोमनाथ अर्यालले अब महिलाहरु व्यवसायिक बाख्रा पालनतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष अर्यालले जीवनमुखी व्यवसायले कुनै ठोस उपलब्धि हासिल नहुने भन्दै जीवनस्तर उकास्नका लागी पनि बाख्रापालन व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउन्ुभयो ।
कृषि पेसा तथा पशु व्यवसायसंग सम्बन्धित महिलाहरुको जीवनस्तरमा सुधार ल्याउनु नै आफ्नो मुख्य उद्देश्य रहेको भन्दै वडाध्यक्ष अर्यालले यस्ता लक्ष्य, उद्देश्य परिपूर्ति गर्न निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ओदारीले विशेष भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त गर्नुभयो । विगत ४ बर्षअघि बाणगंगामा एक सय जना भन्दा कमले व्यवसायिक फर्म दर्ता गरि व्यवसाय संचालन नगरेकोमा अहिले करिब ३ सय बढीले व्यवसायिक फर्म दर्ता गरि व्यवसाय संचालन गरेको बताउनुभयो ।
उहाँले नगरपालिकामा आफ्नो व्यवसायिक फर्म दर्ता गरि व्यवसाय संचालन गर्न र राज्यबाट प्राप्त हुने अनुदान लिन समेत आग्रह गर्नुभएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ओदारीका प्रमुख सुुसिल गौतमले महिला विकास तथा शसक्तिकरणमा यस लघुवित्तले महत्वपुर्ण भुमिका खेल्दै आएको भन्दै बाख्रापालनबाट आत्मनिर्भर बन्न खोजिरहेका महिलाहरुको लागि उक्त तालिमको आयोजना गरेको बताउनुभयो ।
प्रमुख गौतमले बाख्रा पालन व्यवसायमा महिलाहरुको आकर्षण बढ्दो रहेको दाबी गर्दै त्यस्ता महिलाहरुलाई निर्धन उत्थान लघुवित्तले हरेक तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बाख्रा पालन व्यवसाय गर्दा बजार क्षेत्रको कुनै समस्या नरहने जिकिर गर्दै प्रमुख गौतमले त्यस्ता कुनै समस्या आए आफुहरु समाधान गर्न सदैव तयार रहेको बताउनुभयो । तालिमका प्रशिक्षक भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कपिलवस्तुका पशु चिकित्सक दुर्गा प्रसाद खनालले महिलाहरु अब घरयासी काममा मात्र सिमित नहुने स्थितिको निर्माण स्वयम महिलाहरुले व्यवसायीक बाख्रा पालनबाट सुरुवात गर्न आग्रह गर्नुभयो ।
तालिममा सहभागि महिलाहरुले तालिम निकै प्रभावकारी रहेको बताउदैं निर्धन उत्थान लघुवित्तले आफुहरु जस्तो कमजोर आर्थिक अवस्था भएकाहरु महिलाहरुको जीवनस्तर सुधार गर्न हौसला प्रदान गरेको भन्दै खुशी व्यक्त गरेका थिए । लुम्बिनी प्रदेशकी पर्यटन ग्रामीण तथा सहकारी बिकास मन्त्रालयकी राज्य मन्त्री रिना नेपालले उद्घाटन गर्नुभएको तालिममा ३४ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !