काठमाण्डाै – सरकारले यस वर्षको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो । किसानले उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ माग गरेका थिए भने उद्योगीले पाँच सय ८० रुपैयाँ प्रति क्विन्टल हुनुपर्ने माग गरेका थिए ।
सरकारले तोकेको मूल्यमा अनुदान प्रतिक्विन्टल ७० रुपैयाँसमेत जोडिएको कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो ।
यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५ सय २० रुपैयाँ हो । उखुको न्यूनतम लागत ३ सय ८२ रुपैयाँ, ढुवानी खर्च ६२ रुपैयाँ तथा मुनाफा ७६ रुपैयाँ हिसाब गरिएको छ । सरकारले गएको वर्ष उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो ।
सरकारले तोकेको समर्थन मूल्यमा किसानले असन्तुष्टि जनाएका छन् । उखु उत्पादक सङ्घका अध्यक्ष कपिलमुनी मैनालीले सरकार र उद्योगीको मिलेमतोमा मूल्य निर्धारण भएको भन्दै किसान मारमा परेको बताउनुभयो।
तपाईको प्रतिक्रिया !