कपिलबस्तु, फागुन ९
कपिलवस्तु वाणगंगा नगरपालिका–१० की यशोदा लोनियाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४० वर्षीय शम्भु लोनिया छन् । यशोदाको गत मंसिर १० गते हत्या भएको थियो। सुत्ने कोठामा भुइँमा उनको शव फेला परेको थियो ।
एकल महिला रहेकी यशोदालाई देवर शम्भुले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार दुईबीच शारीरिक सम्पर्कपछि विवाद हुँदा शम्भुले यशोदाको हत्या गरेको थाहा भएको छ ।
आफ्नी श्रीमती माइत गएका बेला शम्भु त्यसदिन राति मादक पदार्थ सेवन गरेर यशोदाको कोठामा पुगेका थिए । सुरूमा सहमतिमै शारीरिक सम्पर्क भएको शम्भुले बताएका छन् । दोस्रोपटक शारीरिक सम्पर्क गर्न खोज्दा यशोदाले प्रतिकार गरेकी थिइन् ।
‘प्रतिकार गरी म हल्ला गर्छु भनेपछि बोल्न नसकुन् भनी घाँटी थिचेर हत्या गरेको उनले बताएका छन्,’ प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने ।
शम्भु घर बनाउने काम गर्छन्। घटना हुनुभन्दा केही समयअघि उनकी श्रीमतीसँग झगडा भएको थियो। झगडा भएपछि उनी माइत गएकी थिइन् । यशोदाको शव फेला परेपछि प्रहरीले इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाका प्रहरी निरीक्षक केशवराज ज्ञवालीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो ।
अनुसन्धान समितिले सम्भावित व्यक्तिहरूको पहिचान गर्ने क्रममा शम्भुलाई पक्राउ गरेको भण्डारीले बताए । पोष्टमार्टम रिपोर्टमा यशोदाको स्वास नलीमा अवरोध भएर मृत्यु भएको खुलेको थियो । पक्राउ परेका देवर शम्भुलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ ।
तपाईको प्रतिक्रिया !