कपिलबस्तु, फागुन ९ । कपिलबस्तुको जहदीमा नवनिर्मित स्वास्थ्य चौकीको उदघाटन गरिएको छ । कपिलबस्तु नगरपालिका—११ रेहरास्थित नव निर्मित स्वास्थ्य चौकीको भवनको उद्घाटन कपिलबस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंहले गर्नुभएको हो ।
सो अवसरमा उहाँले स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै हरेक वडामा एक स्वास्थ्य चौकी स्थापना गर्ने नगरपालिकाको अभियान रहेको बताउनुभयो । सम्पूर्ण नागरिकको स्वास्थ्यमा पहुँच तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि नगरपालिकाले विशेष अभियान सञ्चालन गर्दै आएको नगर प्रमुख सिंहले बताउनुभयो । उहाँले भन्नुभयो नगरभित्र रहेका खरका छाना मुक्त अभियानलाई पनि तिब्रता दिएको बताउनुभयो । नगर प्रमुख सिंहले नगरको १२ वटा बडा मध्ये ९ वडामा जस्तापाता वितरण गरिसकेको र वाकी ३ वडाका लागि जस्तापाता खरिद गर्न टेण्डर अहवान गरिसकेको बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख सिंहले भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाता स्वार्गिय बासु बढईको परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । स्वार्गिय बढईको परिवारले भवन निर्माणका लागि ८ कठ्ठा २ धुर जग्गा दान दिएका थिए । स्वास्थ्य चौकी प्रंगणमा स्वार्गिय बासु बढईको सालिक पनि अनावरण गरिएको छ । त्यस्तै सोही बडाको पकडीमा खोप केन्द्रका लागि ६ धुर जग्गादान दिने निरहु पासीलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
गुणस्तरीय शिक्षा र मजबुत स्वास्थ्य क्षेत्रका लागि हामी अहिले पनि लागि परेका छौँ,’ प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेले बताउनुभयो । स्वास्थ्य चौकी उद्घाटनसँगै केही दिनमै बर्थिङ सेन्टर सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
८ कठ्ठा २ धुर जमिनमा रु २ करोड ३७ लाखको लागतामा साढे दुई तलाको भवन निमार्ण भएको कपिलबस्तु नगरपालिका वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादवले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा सुधारका लागि जति पहल गरे पनि सोचे अनुरूप नभएको उहाँले बताउनुभयो । वडाध्यक्ष यादवले भन्नुभयो ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सुरु देखिनै हाम्रो प्रयास रहेको थियो ।’
यसअघि सामान्य बिरामी पर्दासमेत त्यस भेगका स्थानीयहरू उपचारका लागि कठिनाइ भोग्दै आएका थिए । उद्घाटन कार्यक्रममा नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, कपिलबस्तु नगरपालिका वडा नं. १० का वडाध्यक्ष मोहन लाल शर्मा, कार्यपालिका सदस्य, वडा भित्र रहेका विद्यालयका अध्यक्ष एवम् प्रधानाध्यापक, राजनितिक दल, स्थानीय नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जहदी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल यादवको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकीका इन्चार्ज सिद्धार्थकाजी बज्राचार्यले गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया !