कपिलवस्तु, फागुन १३
सोमबारदेखि बाणगंगा नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा नै पहिलो पटक बाणगंगाबाट राष्ट्रिय परिचय पत्र विवरणको दर्ता कार्य सुरु गर्ने भएको हो । जसका लागी आज शुक्रबार बाणगंगा नगरपालिका अन्तर्गत वडाध्यक्ष तथा सचिव एवम् रुजु अधिकारीहरुलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रशिक्षित गर्नुभएको छ ।
राष्ट्रिय परिचय पत्रका लागी आवश्यक जनशक्ति तथा उपकरणहरु आईतबारसम्म पठाउने तयारी भईरहेको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । उहाँले बाणगंगाका ११ वटा वडाबाट नै अब राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता गर्न मिल्ने बताउनुभयो । राष्ट्रिय परिचय पत्रका लागी जिल्ला प्रशासन कार्यालयमा स्थायी रुपमा स्टेशन रहेको र यसका लागी नाम दर्ताको काम निरन्तर भईरहने उहाँको भनाई छ । उहाँका अनुसार दैनिक ६० देखि ९० जनाको विवरण दर्ता गर्न सकिने छ । नागरिकता प्राप्त गरेकाले मात्र यसका लागी नाम दर्ता गराउन सक्ने जानकारी दिदैं प्रजिअ पाण्डेले बाणगंगा करिब ५३ हजारको नाम दर्ता गरिने बताउनुभयो ।
नागरिकता प्रमाणपत्र लिन आउनेहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्रका लागि निवेदन दिन सक्नेछन् र स्थानीय तहहरुमा घुम्ति सेवा सञ्चालन गरेर पनि निवेदन संकलन गरिने प्रजिअ पाण्डेले जानकारी दिनुभयो । यसले आम नागरिकको सम्पूर्ण विवरण सुरक्षित राख्नुका साथै अपराध नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । सो कार्यक्रममा राष्ट्रिय परिचय पत्रको महत्वको बारेमा जानकारी साथै यसको महत्वको बारेमा छलफल समेत भएको थियो ।
राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण एकै ठाउँ डिजिटलाइज प्रविधिमार्फत राख्न सकिन्छ । सो उक्त कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारु, उपप्रमुख चक्र अर्याल, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी लगायतले आआफ्नो धारणा राख्नुभएको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुसहित सरकारले ७७ जिल्लाबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने कार्य शुरु गरेर सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्य राखेको छ । यसैबीच नगरपालिकाले आवश्यक कागजात सहित वडा कार्यालयमा उपस्थित भई नाम दर्ता गराउन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !