कपिलबस्तु निर्माण व्यवसायी संघद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मुल्यवृद्धिको विरोध र खरिद नियमावलीको केही बुँदाहरू संशोधनको माग सहित संघले जिल्ला प्रशासन कार्यालय कपिलबस्तु मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौं संशोधन र वीमा समितिले जारी गरेको वीमा सम्बन्धि निर्देशिका–२०७८ ले गर्दा प्रिमियम दरमा भएको अत्याधिक वृद्धिको विषयलाई समेत आफ्नो आन्दोलनको विषय बनाएको छ ।
निर्माण व्यवसायी संघ कपिलबस्तुका महासचिव सरोज अर्यालले प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे मार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई १३ बुँदे ज्ञापन पत्र बुझाउनु भएको हो । उहाँहरूले निर्माण सामग्रीमा अप्रत्याशितरुपमा भएको मूल्य वृद्धिका कारण व्यवसाय नै सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभएको छ ।
सार्वजनिक खरिद ऐनको संशोधनले साना निर्माण व्यवसायीलाई समस्या भइरहेको र यसले निर्माण व्यवसायीवीच ठूलो अन्तर पैदा गर्ने महासचिव अर्यालले सार्वजनिक ऐनमा आफूहरु गरेको विरोधको सुनुवाइ तत्काल नभएको खण्डमा निर्माण व्यवसायी थप आन्दोलित हुने बताउनुभयो । ज्ञापन पत्र बुझाउन संघका पूर्व अध्यक्ष चन्द्र शेखर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !