बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको समस्या पहिचान र जग्गाको क्षेत्रफल यकिनका लागि गठन भएको कार्यदलले काम थालेको छ । औद्योगिक क्षेत्रको शिलान्यास दुई वर्षअघि भएपनि स्थानीयको समस्या समाधान नगरी काम अघि बढ्न नसकेपछि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको थियो ।
औद्योगिक क्षेत्रको डीपीआर तयार भएपनि सो क्षेत्रमा कुन ठाउँदेखि कुन ठाउँसम्म कति जग्गा औद्योगिक क्षेत्रको नाममा रहेको हो भन्ने यकिन नभएकाले ड्रोनबाट नापजाँच गर्ने र त्यसै अनुसार प्रतिवेदन तयार गर्ने कार्यदलले निर्णय गरेको छ ।ड्रोन प्रविधिबाट तत्काल नाप नक्शांकन प्रक्रिया अघि बढाउन मोतीपूर औद्योगिक क्षेत्रका कार्यालय प्रमुखलाई जिम्मेवारी दिने निर्णय गरेको सदस्य सचिव टेकराज पन्थीले बताए ।
यसअघि ८१३ बिघा जग्गामा औद्योगिक क्षेत्र बनाउने गरी सरकारले काम थालेको थियो । अब करिब ३ सय बिघा छाडेर ५ सय बिघामा मात्रै औद्योगिक क्षेत्र बनाउने तयारी छ ।
कार्यदलले प्रभावित क्षेत्रका वडा अध्यक्षहरुले आ–आफ्ना वडाभित्रका सो औद्योगिक क्षेत्रको जग्गाभित्र बसोबास गरेका व्यक्तिहरुको हकभोग गरेको जग्गाको विवरण सहितको नामावली ५ दिनभित्र कार्यदललाई उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ ।
कार्यदललाई मोतिपूर औद्योगिक क्षेत्रको के कति जग्गाको क्षेत्रफल घटाउन सकिन्छ, भनी ७ दिनभित्र यथार्थ प्रतिवेदन दिने गरी अधिकार दिइएको छ ।
कार्यदलले ७ दिनभित्र प्रतिवेदन पेश गरेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएको ३ दिनभित्र कार्यपालिकाबाट निर्णय गरी सिफारिस गर्ने निर्णय गरेको बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले बताए ।
तपाईको प्रतिक्रिया !