तस्वीर : क्रिकइन्फाे
काठमाण्डाै – पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेको छ । पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानलाई २ विकेटले हराउँदै घरेलु टोली दक्षिण अफ्रिका पहिलो पटक विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य दक्षिण अफ्रिकाले पाँचौं दिनको खाना समयपछि ८ विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभुमाले ४०, एडन मारक्रमले ३७, कागिसो रबाडाले नटआउट ३१ रन बनाए । नवौं विकेटका लागि रबाडा र मार्काे यान्सेनले ५१ रनको साझेदारी गरे । पाकिस्तानका मोहम्मद अब्बासले ६ विकेट लिए ।
यसअघि सेन्चुरियनमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले पहिलो पारीमा २ सय ११ रन बनाएको थियो । यस्तै दक्षिण अफ्रिकाले पहिलो पारीमा ३ सय १ रन बनाएको थियो ।
दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनशिपको शीर्ष स्थानमा छ । अब विश्व टेस्ट च्याम्पियनशिपको फाइनल पुग्ने अर्काे टोली अस्ट्रेलिया र भारतमध्ये एक हुनेछन् । तेस्रो संस्करणको विश्व टेस्ट च्याम्पियनशिपको फाइनल आउँदो वर्ष बेलायतको लर्ड्समा हुनेछ ।
दक्षिण अफ्रिका र पाकिस्तानबीचको दुई खेलको टेस्ट शृङ्खलाको अन्तिम खेल आउँदो शुक्रवारदेखि केप टाउनमा शुरू हुनेछ ।
तपाईको प्रतिक्रिया !