१६ वर्षमुनिको इस्ट जोन कप खेल्न जाने नेपाली टोलीको बिदाइ
काठमाडौँ, असार ६ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सहभागी हुन मलेशिया प्रस्थान गर्ने नेपाली क्रिकेट टोलीको शुक्रबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको हो।
प्रतियोगिता असार ७ गते (शनिबार)देखि मलेशियामा सुरु हुँदैछ। प्रतियोगिताका लागि क्यानले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। सूर्यांशु कोइराला उपकप्तान रहेका छन्।
पूर्वी क्षेत्रीय कपमा नेपालसहित १० देशको सहभागिता रहेको छ। नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ उसले सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका छन्।
नेपालले प्रतियोगिताको पहिलो खेल आइतबार (असार ८ गते) सिङ्गापुरविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। दोस्रो खेल जापानसँग असार १० गते, तेस्रो खेल इन्डोनेसियासँग असार १५ गते र अन्तिम समूह चरणको खेल भूटानविरुद्ध असार १७ गते हुने तालिका तय भएको छ।
प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् भने फाइनल खेल असार २१ गतेका लागि तोकिएको छ।
टोली सदस्यहरू:
-
विपिनप्रसाद शर्मा (कप्तान)
-
सूर्यांशु कोइराला (उपकप्तान)
-
शिवांश बजगाई
-
परिमार्जन यादव
-
रौनक श्रीवास्तव
-
अभय यादव
-
सचिन भट्ट
-
सुगम बुढाथोकी
-
सुयोग भट्टराई
-
सुशील रावल
-
शुभम् खनाल
-
प्रसिद्ध जैशी
-
जोय थापा
-
रोशन शाही































