ओमान क्रिकेटले सन् २०२४ मा सम्पन्न टी–२० विश्वकपमा सहभागी आफ्ना खेलाडीहरूलाई पुरस्कार रकम तिर्ने घोषणा गरेको छ।

क्रिकेटसम्बन्धी वेबसाइट क्रिकइन्फोका अनुसार, पुरुष टी–२० विश्वकप टोलीका सदस्यहरूलाई प्रतियोगिताबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी गर्न ओमान क्रिकेट सहमत भएको हो।

ओमान क्रिकेटले जारी गरेको विज्ञप्तिमा टोलीका खेलाडी र सहयोगी कर्मचारीहरूलाई आउँदो जुलाई महिनासम्ममा कुल २ लाख २५ हजार अमेरिकी डलर वितरण गरिने उल्लेख गरिएको छ।

विश्वकप खेलिएको एक वर्ष बितिसक्दा पनि खेलाडीहरूले अझै पुरस्कार रकम नपाएको भन्दै ओमान क्रिकेट आलोचित हुँदै आएको थियो। यसबारे ओमान क्रिकेटले भुक्तानीमा भएको ढिलाइलाई प्रक्रियागत कारणले भएको बताएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आयोजक बोर्डहरूलाई प्रतियोगिताबाट प्राप्त पुरस्कार रकम २१ दिनभित्र खेलाडीहरूलाई दिनुपर्ने व्यवस्था गरेको भए पनि ओमान क्रिकेटले सो नियमको पालना गर्न सकेको थिएन।

अब जुलाईभित्र रकम वितरण गरिने प्रतिवद्धतासँगै खेलाडीहरूले लामो समयदेखि कुर्दै आएको बक्यौता पाउने आशा गरिएको छ।