काठमाडौँ, असार १३ । नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट आयोजना हुने भएको छ। काठमाडौँ स्पोट्र्स इभेन्ट्स प्रालिको आयोजनामा यहि भदौ २३ गतेदेखि २८ गतेसम्म बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा प्रतियोगिता हुने भएको हो।

प्रतियोगिता निर्देशक ज्योति भण्डारीका अनुसार प्रतियोगिता १० ओभरका खेलमा सिंगल राउन्ड रोबिन लिगका आधारमा खेलिनेछ। यसमा १० वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्।

इन्डोर क्रिकेट इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशी विजेताका लागि उपलब्ध गराउने आयोजकको तयारी रहेको छ। पुरस्कार राशी केही दिनमै सार्वजनिक गरिने जनाइएको छ।

लिगका लागि टोली खरिद र खेलाडी अक्सन प्रक्रिया पनि तय गरिएको छ। प्राविधिक निर्देशक रवीन्द्र गुप्ताका अनुसार एक जना मार्कीसहित ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा खेलाडीहरुले दर्ता गर्न पाउनेछन्। राष्ट्रिय खेलाडीलाई मार्की खेलाडीको रूपमा राखिने आयोजकले जनाएको छ।