भूटानलाई २ सय ९८ रनले हराउँदै नेपाल समूह विजेता
तस्वीर : क्यान
काठमाण्डाै – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भूटानलाई २ सय ९८ रनले हरायो ।
नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भूटानले ३२ ओभर ४ बलमा ९ विकेट गुमाएर ६० रन बनायो । भूटानका अन्तिम ब्याटर क्रिजमा आएनन् । भूटानका शेजाङ दावाले सबैभन्दा धेरै १४ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ तथा सुयोग भट्टराई र सचिन भट्टले २/२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रन बनायो । नेपालका रौनक श्रीवास्तवले शतक बनाए । श्रीवास्तव १ सय ३२ बलमा कीर्तिमानी १ सय ६८ रन बनाएर आउट भए । कुनै पनि उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितमा नेपाली खेलाडीले बनाएको यो उच्च व्यक्तिगत रन हो । यसअघि यो कीर्तिमान अर्जुन कुमालको नाममा थियो । अर्जुनले एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा साउदी अरेबियासँगकाे खेलमा १ सय ४२ रन बनाएका थिए ।
यस्तै जोय थापाले नटआउट ६१, शिवांश बजगाइँले ५४ रन बनाए । भूटानका साङ्गे दोर्जीले ३ विकेट लिए ।
नेपाल समूह चरणका सबै खेल जितेर सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो । यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेशिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका छन् ।
अब सेमिफाइनलमा नेपालले मलेशियासँग र हङकङले सिङ्गापुरसँग खेल्नेछ । १६ वर्षमुनिको इस्ट जोन कपको सेमिफाइनल खेल पर्सि बिहीवार हुनेछ । यस्तै फाइनल खेल आउँदो शनिवार हुनेछ ।































