महिला एशियन कपको छनोट : नेपालले आज श्रीलङ्कासँग खेल्दै
तस्बिर : एन्फा
काठमाण्डौ — एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । खेल उज्वेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।
पछिल्लो फिफा वरियतामा नेपाल १००औँ स्थानमा रहेको छ भने श्रीलङ्का १५९औँ स्थानमा छ । यसअघि आइतवार भएको पहिलो खेलमा नेपालले लाओसलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै श्रीलङ्का भने उज्वेकिस्तानसँग १०–० गोलले पराजित भएको थियो ।
समूह ‘एफ’ मा नेपाल ३ अङ्कसहित दोस्रो स्थानमा रहेको छ भने उज्वेकिस्तान शीर्ष स्थानमा छ । लाओस तेस्रो र श्रीलङ्का पुछारमा छन् । समूह चरणको अन्तिम खेलमा नेपालले असार २१ गते शनिबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
महिला एशियन कप छनोटअन्तर्गत ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेताले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एशियन कपमा सहभागिता जनाउनेछन् । प्रतियोगितामा आयोजक अस्ट्रेलिया, चीन, दक्षिण कोरिया र जापान पहिल्यै छनोट भइसकेका छन् ।































