काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जित्नै पर्ने खेलमा लुम्बिनी लायन्सविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो ।
जनकपुरका संगिथ कुरेले सर्वाधिक ४५ रन बनाए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । ८३–६ को स्थितिबाट कुरेले मयन यादवसँग सातौँ विकेटका निम्ति ४९ रनको साझेदारी गरे ।
मयनले २३ बलमा एक चौका र एक छक्कासहित २७ रन थपे । अर्का ओपनर आसिफ सेख पनि २० रनमा पभेलियन फर्किए । सञ्जय कृष्णमुर्थीले ११ बलमा एक छक्कासहित १४ रन जोडे । जनकपुरले माज सदाकतलाई ६ र अनिल साहलाई सात रनमा गुमाएको थियो ।
लुम्बिनीविरुद्ध कप्तानी जिम्मेवारीमा रहेका जान निकोल लोफ्टी इटोन गोल्डेन डक भए ।
लुम्बिनीका शेर मल्ल र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । जेजे स्मिथ र रुबेन ट्रम्पलमेनको नाममा समान एक विकेट रह्यो ।
आजको खेलमा जित निकाले लुम्बिनी प्रतियोगिताको प्लेअफ पुग्ने चौथो टिम बन्नेछ ।
यता, प्लेअफ पुग्ने झिनो सम्भावना कायम राख्न जनकपुर पनि जितको दबाबमा छ ।
















