तौलिहवामा सद्भाव र्याली सम्पन्न
तौलिहवा (कपिलवस्तु), पुस २३ । सामाजिक सद्भाव, सहिष्णुता र शान्ति कायम राख्ने उद्देश्यले कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा बुधबार सद्भाव र्याली सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको समन्वय तथा आयोजना र कपिलवस्तु नागरिक समाजको अगुवाइमा र्याली आयोजना गरिएको हो।
“एकता, सहिष्णुता र सद्भाव हाम्रो पहिचान, शान्ति र समृद्धि यही हो अभियान” भन्ने नारासहित निकालिएको र्याली तौलिहवाका मुख्य सडक परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। र्यालीमा विभिन्न समुदायका नागरिक, महिला, युवा, ज्येष्ठ नागरिक, सामाजिक अभियन्ता तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले समाजमा आपसी सद्भाव, सहअस्तित्व र सहकार्यलाई थप मजबुत बनाउन यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताए। उनीहरूले सामाजिक एकता कमजोर पार्ने गतिविधिप्रति सचेत रहन सबैलाई आग्रह गर्दै शान्तिपूर्ण समाज निर्माणमा नागरिकको भूमिकालाई महत्वपूर्ण भएको उल्लेख गरे।
र्यालीले जिल्लामा सामाजिक सद्भाव प्रवर्द्धन गर्न सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएका छन्।































