शुद्धोधनमा खेलमैदान स्तरोन्नतिका लागि आवेदन मन्त्रीलाई हस्तान्तरण
कपिलबस्तु । पुस २४ गते । कपिलबस्तुको शुद्धोधन गाउँपालिका २ स्थित बरगदवाको खेलकूद मैदान संरचना निर्माण तथा स्तरोन्नतिका लागि आवेदन पेश गरिएको छ । उक्त कागजातसहितको आवेदन लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकूद मन्त्री सन्तोष पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

युवा तथा खेलकूद मन्त्रालय लुम्बिनी प्रदेशबाट पुस ९ मा खेलकूद पूर्वाधार निर्माणका लागि प्राप्त सूचनाअनुसार शुद्धोधन गाउँपालिकाले सबै प्रक्रिया पूरा गरी आवेदन बुझाएको हो । आवेदनमा खेलमैदानको संरचना निर्माण, स्तरोन्नति तथा पूर्वाधार विकासका लागि आवश्यक कागजातहरू समावेश गरिएको छ ।
गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले बरगदवाको खेलमैदान व्यवस्थित भएसँगै स्थानीय युवा तथा खेलाडीलाई गुणस्तरीय अभ्यास स्थल प्राप्त हुने बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकूद पूर्वाधार विस्तारले युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्दै स्वास्थ्य, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको विकासमा टेवा पुग्नेछ ।”

प्रमुख प्रशासकीय अधिकृत संजय चौधरीले आवश्यक कागजात, प्राविधिक विवरण र स्वीकृति प्रक्रिया समयमै पूरा गरी आवेदन पेस गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयको मापदण्डअनुसार सबै कागजी प्रक्रिया पूरा गरिएको छ । स्वीकृति प्राप्त भए लगत्तै निर्माण प्रक्रिया अगाडि बढाइनेछ ।”
युवा तथा खेलकूद मन्त्री सन्तोष पाण्डेले प्रदेश सरकार खेलकूद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै योग्य परियोजनालाई चरणबद्ध रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थानीय बासिन्दाले लामो समयदेखि व्यवस्थित खेलमैदानको माग गर्दै आएका थिए । आवेदन हस्तान्तरण भएसँगै बरगदवामा आधुनिक खेलमैदान निर्माण हुने अपेक्षा गरिएको छ ।






















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













