अन्तर्राष्ट्रिय कराते विजेता कपिलवस्तु टाेलीलाई विजयनगरमा सम्मान
(विजयनगर) कपिलवस्तु, २९ पाैष । भारत महाराष्ट्रकाे भाण्डुपमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिप २०२६ मा कपिलवस्तुबाट प्रतिनिधित्व गर्दै सहभागी भएको नेपाली टाेलीले प्रथम स्थान हासिल गरेको छ ।
इप्पोन युवा मार्शल आर्ट्स एण्ड स्पोर्ट्स फाउन्डेसनको आयोजनामा सम्पन्न प्रतियोगितामा कपिलवस्तुकाे शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाका कराते खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण सफलता हात पारेकाे कराते प्रशिक्षक रामु सुनारले जानकारी दिए ।
उक्त ऐतिहासिक उपलब्धीपछि सोमबार विजयनगर गाउँपालिकाले विजेता खेलाडी टाेलीलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ । दाेसल्ला र टीका लगाई खेलाडीहरुलाई सम्मान गरिएको हाे । सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले खेलकुदले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
अध्यक्ष थापाले यस्तो अन्तर्राष्ट्रिय सफलता प्राप्त हुनु नेपाल सहित पालिकाकै गर्वको विषय भएको उल्लेख गर्दै खेलमा सहभागी गराउने अभिभावकलाई धन्यवाद समेत व्यक्त गरे । अध्यक्ष थापाले कराते लगायत सम्पूर्ण खेलकुदको प्रवर्द्धन तथा खेलाडीहरूको हौसला अभिवृद्धिका लागि गाउँपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
सम्मान कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, कार्यपालिका सदस्य टंक बहादुर सुनार लगायतकाे उपस्थिति रहेको थियो ।
कराते प्रतियोगितामा सुसान्त महरा, हरि नारायण यादव, सञ्जय कोरी, आशिष यादव, असिफ खान, अस्फाक कुजडा, अर्बाजकाे सहभागिता रहेको थियाे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























