साना किसानको ९ औँ वार्षिक साधारण सभा
कपिलवस्तु, पुस ३० गते । साना किसान कृषि सहकारी संस्था लिमिटेड, निग्लिहवाको ९औँ वार्षिक साधारण सभा तथा उपनिर्वाचन कार्यक्रम कपिलवस्तु नगरपालिका–९ स्थित श्री कनकमुनि माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।
साधारण सभा सञ्चालनसम्बन्धी मापदण्ड बमोजिम भदौ १७ मा आह्वान गरिएको सभा सम्पन्न भएको हो । सभामा १३ वटा प्रस्ताव प्रस्तुत गरी पारित गरिएको छ भने सदस्यहरूलाई १५ प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरिएको छ ।
सो अवसरमा मंसिर १३ गते दिवंगत सदस्य रामसजन केवटको सदस्य सुरक्षा योजनाअन्तर्गत बीमा रकम रु. ३ लाख वितरण गरिएको छ । साथै, रिक्त अन्तरसमूह नम्बर ८ बाट सञ्चालक प्रतिनिधिमा मीरा चौधरी निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा संस्थाकी अध्यक्ष सुलोचना पराजुलीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिकी संयोजक अमृता नेपाली हमालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका प्रबन्धक बसन्त मुराउका अनुसार हाल संस्थामा २ हजार ४ सय २७ जना शेयर सदस्य आबद्ध छन् । आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाको आय–व्यय रु. १२ करोड २७ लाख १२ हजार २५४ रहेको छ भने कुल सम्पत्ति रु. २८ करोड ८१ लाख ३६ हजार ७५ पुगेको छ ।
गत आर्थिक वर्षमा संस्थाले कृषि सम्बन्धी विभिन्न निकायसँगको समन्वयमा माटो परीक्षण, मकै तथा विभिन्न जातका तरकारीका बीउ सशुल्क वितरण, पशु उपचार (भेटेरिनरी) सेवा, लागत साझेदारीमा सामग्री बिक्रीलगायत कार्यक्रम सञ्चालन गरेको प्रबन्धक मुराउले जानकारी दिनुभयो ।
त्यसैगरी तरकारी खेती तथा गाई–भैंसी, बाख्रा र बङ्गुर पालनलाई व्यवसायिकरण गर्न साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, इलाका कार्यालय बुटवलसँगको सहकार्यमा एक अङ्कको ब्याजदर सुविधासहित कर्जा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।
कार्यक्रम संस्थाकी सह प्रबन्धक सीता वाग्लेको सञ्चालनमा भएको थियो ।































