कर्ममा विश्वास गरेर आत्मनिर्भर बन्दै तारा चाई
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१, बरोर्हियामा बस्दै आएकी ३५ वर्षीया तारा चाई आज सफल व्यवसायिक तरकारी किसानका रूपमा चिनिन थाल्नुभएको छ । कहिल्यै घरबाहिर ननिस्कने परिवेशबाट आत्मनिर्भर व्यवसायी बन्दैसम्मको उहाँको यात्रा धेरै महिलाका लागि प्रेरणाको कथा बनेको छ ।
मधेसी समुदायको परम्परागत सामाजिक संरचनाले बुहारीलाई घरबाहिर निस्कन प्रायः रोक लगाइने चलन थियो । तारा पनि यही संस्कारमा बाँधिनुभएको थियो । सात सदस्यीय परिवार, सीमित शिक्षा, कमजोर आर्थिक अवस्था र छोराछोरीको भविष्यप्रतिको चिन्ताले उहाँको जीवन थप चुनौतीपूर्ण थियो ।
२०७६ सालतिर गाउँमा ‘परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजना’ अन्तर्गत महिलाका लागि बैठक बस्ने खबर फैलियो । तारा सहभागी हुन चाहनुहुन्थ्यो, तर सुरुमा परिवारबाट अनुमति पाउन सक्नुभएन । केही महिनापछि गाउँकै एक महिलाले घरमै आएर श्रीमान्सँग छलफल गरेपछि उहाँलाई बैठकमा जान अनुमति मिल्यो ।
तारा सम्झनुहुन्छ, “पहिलो बैठकमै महिला समूह गठन गर्ने निर्णय भयो । त्यसै दिन समूहको नाम ‘अन्नपूर्ण आत्मनिर्भर महिला समूह’ राखियो । दिदीबहिनीहरूले मलाई कोषाध्यक्षको जिम्मेवारी दिनुभयो ।”
समूहमा आबद्ध भएपछि तारा स्वास्थ्य, सरसफाइ, कुरीति, अन्धविश्वास र महिला सशक्तीकरणसम्बन्धी गतिविधिमा सक्रिय बन्दै जानुभयो । तर केवल सामाजिक गतिविधिले मात्र परिवारको आर्थिक समस्या समाधान नहुने बुझाइपछि उहाँले आफ्नै ६ कठ्ठा जमिनमा तरकारी खेती सुरु गर्नुभयो ।
यही क्रममा दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपालको सहकार्यमा सञ्चालित परियोजनाअन्तर्गत उहाँलाई ३ दिने व्यवसाय योजना तालिम दिइयो । तालिमपछि समूहको सिफारिसमा व्यवसायिक तरकारी खेतीका लागि रु. २५ हजार आर्थिक सहयोग पनि प्राप्त भयो ।
त्यसपछि तारा परिवारसहित गाउँकै एक व्यक्तिबाट वार्षिक रु. ४० हजारमा २ बिघा खेत भाडामा लिएर पूर्ण रूपमा व्यवसायिक तरकारी खेतीमा जुट्नुभयो । परिवारभित्र जिम्मेवारीसमेत बाँडफाँड गरियो—तारा र श्रीमान् उत्पादनमा, ससुरा बजार व्यवस्थापनमा, सासु अन्य सहयोगी काममा, र विद्यालय बिदाका बेला छोराछोरी समेत खेतबारीमा सहयोग गर्न थाले ।
हाल उहाँहरूले फूलगोभी, बन्दागोभी, टमाटर, मटर, केरा, आलु र खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ । यसबाट वार्षिक करिब रु. ७ लाख बराबरको आम्दानी हुन थालेको उहाँ बताउनुहुन्छ ।
तारा भन्नुहुन्छ,
“तरकारी खेतीले हाम्रो जीवन बदलिदिएको छ । अहिले बैंक र लघुवित्तमा खाता खोलेकी छु, परिवार र छोराछोरीको बीमा पनि गरिसकेकी छु ।”
आज तारा चाई मायादेवी गाउँपालिकाकै सफल व्यवसायिक किसानका रूपमा परिचित हुनुभएको छ । वडा कार्यालय र कृषि शाखाबाट पनि उहाँले प्राविधिक सहयोग पाइरहनुभएको छ । उहाँको सफलताबाट प्रेरित भएर सोही समूहकी पूर्णिमा मल्लाहले पनि व्यवसायिक तरकारी खेती सुरु गर्नुभएको छ ।
तारा अन्त्यमा भन्नुहुन्छ, “भन्छन् नि—माटो नै मानिस बाँच्ने आधार हो । त्यही माटोमा पसिना बगाइयो भने सुन पनि फल्छ । आज यो कुरा मेरो जीवनमा सत्य सावित भएको छ ।”
आगामी दिनमा खेती विस्तार गर्दै अन्य महिलालाई पनि व्यवसायिक खेतीतर्फ प्रेरित गर्ने उहाँको योजना छ । तारा चाईको कथा केवल व्यक्तिगत सफलताको मात्र होइन, ग्रामीण महिलाको आत्मनिर्भरता र सम्भावनाको प्रतीक पनि बनेको छ ।































