डडेल्धुरा, वैशाख १७ गते । महाकाली नदी किनारबाट दुई जना युवा बेपत्ता भएका छन् । डडेल्धुराको परशुराम नगरपालिका –५ स्थित महाकाली नदी किनारबाट सशस्त्र प्रहरीको एक जवानसहित दुई जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहकाअनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् ।

शुक्रबारदेखि उहाँहरु दुई जना सम्पर्कविहीन भएको डीएसपी सिंहले जानकारी दिनुभयो । बेपत्ता दुवै जनाको नाता मामाभान्जा पर्ने बुझिएको उहाँले बताउनुभयो । महाकाली नदी किनारमा उहाँहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंका गरिएको छ । घटनापछि सुरक्षा निकायले उहाँहरूको खोजी कार्यलाई तीव्र बनाएको छ ।

डीएसपी सिंहले बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालन गरी सम्भावित क्षेत्रहरूमा खोजतलास भइरहेको छ ।