भूकम्प उत्थानशीलतामा सबैको तयारी आवश्यक
तौलिहवा(कपिलबस्तु), माघ २ गते । भूकम्प उत्थानशीलतामा सबैको तयारी आवश्यक रहने सरोकारवालाहरुले जोड दिनु भएको छ । कपिलवस्तु नगरपालिकाको आयोजनामा दिवसको अवसरमा सो कुमार जोड दिइएको हो ।
“सबै तहको सरकार, सबै नागरिकको तयारी—भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी” भन्ने नाराका साथ २८ औँ राष्ट्रिय भूकम्प दिवस कपिलवस्तु नगरपालिकामा सभाहलमा मनाइएको छ ।
सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका उप प्रमुख रमेश कुर्मीले भूकम्पजस्ता विपद् कुनै एक निकायको प्रयासले मात्र सामना गर्न नसकिने बताउँदै सबै तहका सरकार, संघसंस्था र नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा पूर्वतयारी योजना, सुरक्षित बासस्थान र नियमित अभ्यास कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले विपद् पूर्वतयारी, सुरक्षित संरचना र समुदायस्तरको सचेतनालाई प्रभावकारी उपायका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले विपद् व्यवस्थापनमा स्थानीय तह, सुरक्षा निकाय र नागरिकबीच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।
कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनय कुमार श्रीवास्तवले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै सचेतना र अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममानेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल, गैरसरकारी संस्था महासंघका अध्यक्ष जयप्रकाश पाण्डेले खोज, उद्धार र प्राथमिक उपचारसम्बन्धी अभ्यास नियमित गर्नुपर्ने बताउनुभयो । कृष्ण पाण्डेयको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न निकायका प्रतिनिधि, सुरक्षाकर्मी र नागरिक लगायतको सहभागिता रहेको थियो ।































