निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न जिल्ला प्रशासनको आग्रह
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय तौलिहवाले निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ। निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ३ दफा ५ अन्तर्गत खण्ड ९(क) र ९(ख) विपरीत केही स्थानीय तहका पदाधिकारीहरूले आचारसंहिता उल्लंघन गरेको जनगुनासो प्राप्त भएपछि जिल्ला प्रशासनले ध्यानाकर्षण गराएको हो।
आचारसंहिताअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार–प्रसारमा संलग्न हुन सक्ने व्यवस्था भए पनि त्यस क्रममा सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट प्रावधान रहेको छ। तर उक्त प्रावधानको उल्लंघन भएको भन्ने गुनासो प्राप्त भएपछि सबैलाई सचेत गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत कपिलवस्तु एवम् सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो,
“निर्वाचन आचारसंहिता, २०८२ सबैले अक्षरशः पालना गर्नु गराउनु आवश्यक छ। सरकारी स्रोत र साधनको दुरुपयोग भएमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ।”
जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा समेत आचारसंहिता कार्यान्वयनको अनुगमनलाई कडाइका साथ अघि बढाइने जनाएको छ।
































