काभा महिला भलिबल च्याम्पियनशिप : नेपालले किर्गिस्तानलाई हरायाे
काठमाण्डौ – काभा महिला भलिबल च्याम्पियनशिपमा नेपालले विजयी शुरूआत गरेको छ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको आफ्नो दोश्रो खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो ।
नेपाल पहिलो सेट २५–१८, दोश्रो सेट २५–२० र तेश्रो सेट २५–१३ ले विजयी भयो । यो जीतसँगै नेपालले २ खेलबाट ४ अङ्कसहित समूह ‘ए’को दोस्रो स्थानमा उक्लेको छ भने सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
हिजो भएको आफ्नो पहिलो खेलमा भारतसँग ३–२ ले पराजित हुँदा १ अङ्क जोडेको थियो । कीर्गिस्तानको भने यो पहिलो हार हो । कीर्गिस्तानको २ खेलमा ३ अङ्क छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि माल्दिभ्ससँग खेल्नेछ । नेपालले माल्दिभ्सलाई हराएमा सेमिफाइनल पुग्नेछ ।
कीर्गिस्तानले भने पर्सि सोमवार भारतसँग खेल्नेछ । यस्तै आज भएको पहिलो खेलमा काजकिस्तानले श्रीलाङ्गालाई ३–० र दोश्रो खेलमा भारतले माल्दिभ्सलाई पनि ३–० को सोझो सेटमा हराएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र मालदिभ्स छन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका छन् ।































