“१ हजार ५ सय ७५ परिवार पुग्यो जग्गाधनीको सूचीमा, बाँकी योग्य लाभग्राहीलाई पनि चाँडै लालपुर्जा वितरण गरिने”

कपिलवस्तु | २०८३ असार २१, आइतबार

कपिलवस्तुको शिवराज नगरपालिकाले गाउँ ब्लकअन्तर्गतका ९७५ घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्दै वर्षौँदेखिको भूमि समस्या समाधानतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

नगरपालिका–५ स्थित चन्द्रौटा दुर्गा मन्दिर परिसरमा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख अजय थापाले लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गर्नुभयो। यस चरणमा वडा नम्बर १, ४, ६, ८ र ११ का स्थानीयले लालपुर्जा प्राप्त गरेका हुन्।

लामो समयदेखि आफ्नै जग्गामा बसोबास गरे पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा बैंकिङ सेवा, ऋण सुविधा, सम्पत्ति नामसारी, अंशबण्डा तथा अन्य सरकारी सेवा लिन कठिनाइ भोग्दै आएका स्थानीयका लागि यो वितरण ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

नगरपालिकाका अनुसार यसअघि करिब ६०० घरधुरीलाई लालपुर्जा वितरण गरिसकिएको थियो। पछिल्लो वितरणसँगै हालसम्म १ हजार ५ सय ७५ परिवार जग्गाधनी प्रमाण पुर्जाबाट लाभान्वित भएका छन्। बाँकी योग्य लाभग्राहीको नापजाँच तथा लालपुर्जा वितरण प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको जनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अजय थापाले भूमि अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख जिम्मेवारी रहेको बताउनुभयो। उहाँले लालपुर्जा तयार भए पनि निर्वाचन आचारसंहिताका कारण वितरणमा केही ढिलाइ भएको उल्लेख गर्दै अब बाँकी योग्य नागरिकलाई पनि यथाशीघ्र लालपुर्जा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

लालपुर्जा प्राप्त गरेसँगै लाभग्राहीहरूले आफ्नो जग्गामाथि पूर्ण कानुनी स्वामित्व कायम गर्न, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन, कृषि तथा उद्यममा लगानी गर्न, सम्पत्ति हस्तान्तरण गर्न तथा सरकारी सेवा–सुविधा सहज रूपमा उपयोग गर्न सक्ने भएका छन्।

लालपुर्जा पाएपछि स्थानीयवासीले दशकौँदेखिको अन्योल अन्त्य भएको र आफ्नो सम्पत्तिमाथि कानुनी अधिकार स्थापित भएको प्रतिक्रिया दिएका छन्। शिवराज नगरपालिकाले गाउँ ब्लकका बाँकी भूमि सम्बन्धी समस्या पनि चरणबद्ध रूपमा समाधान गर्दै जाने जनाएको छ।