जेन्जी आन्दोलनका क्रममा अदालतमा भएको आगजनी तथा निर्वाचनको बीचमा पनि कपिलवस्तु जिल्ला अदालतले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। अदालतमा वर्षौंदेखि विचाराधीन रहेका दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्योट गर्न सफल भएको हो।

गत आर्थिक वर्ष २०८२/८३ मा दुई वर्षभन्दा पुराना २ सय ७८ वटा सबै मुद्दा फर्छ्योट गरिएको अदालतको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

अदालतका श्रेस्तेदार अनन्त मरासिनीले लामो समयदेखि विचाराधीन रहेका दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्योट हुनु अदालत स्थापनाकालदेखि हालसम्मकै ऐतिहासिक उपलब्धि भएको बताए। उनका अनुसार न्यायाधीश तथा कर्मचारीहरूको सामूहिक प्रयासबाट यो उपलब्धि हासिल भएको हो।

भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा अदालतमा आगजनी हुँदा श्रेस्ता तथा अभिलेख (रेकर्ड) मा ठूलो क्षति पुगेको थियो। त्यसका कारण दुई महिनाभन्दा बढी समय अदालतको कामकाज प्रायः ठप्प बनेको थियो। यस्तै, गत फागुन २१ गते भएको निर्वाचनका क्रममा न्यायाधीश तथा कर्मचारीको सरुवाका कारण पनि अदालतको काम प्रभावित भएको थियो।

गत आर्थिक वर्षमा अदालतले कुल मुद्दामध्ये ६२ दशमलव ३४ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ हजार ५०९ र गत आर्थिक वर्षमा नयाँ दर्ता भएका २ हजार ३४२ गरी कुल ३ हजार ८५१ मुद्दामध्ये २ हजार ४०१ वटा मुद्दा फर्छ्योट भएका छन्। हाल १ हजार ४५० मुद्दा फर्छ्योट हुन बाँकी रहेका छन्।

आर्थिक वर्ष २०८१/८२ मा भने कुल मुद्दामध्ये ६५ दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्योट गरिएको थियो। त्यस वर्ष जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी कुल ४ हजार ४१६ मुद्दा रहेका थिए।

गत आर्थिक वर्षमा देवानीतर्फ २ हजार ६४८, फौजदारीतर्फ १ हजार १५५, बन्दी प्रत्यक्षीकरणका ४ तथा निषेधाज्ञासम्बन्धी ४४ मुद्दा दर्ता भएका थिए।

हाल फर्छ्योट हुन बाँकी रहेका मुद्दामध्ये ६ महिनाभित्रका १ हजार ४७, ६ महिनादेखि एक वर्षसम्मका १९०, १२ देखि १८ महिनासम्मका १८० तथा १८ महिनादेखि दुई वर्षभित्रका ३३ मुद्दा रहेका छन्।

कपिलवस्तु जिल्ला अदालतमा हाल पाँच जना न्यायाधीशले मुद्दाको सुनुवाइ तथा फैसला गर्दै आएका छन्।