सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश : सांसद अभिषेकप्रताप शाहविरुद्धको पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न निर्देशन
काठमाडौं, साउन ६ – सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा उक्त आदेश जारी गर्दै अर्को आदेश नभएसम्म पक्राउ पुर्जी यथास्थितिमा राख्न निर्देशन दिएको हो।
सांसद शाहले जिल्ला अदालत कपिलवस्तुले जारी गरेको पक्राउ पुर्जी बदर गर्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। रिटमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले विपक्षी निकायहरूसँग लिखित जवाफ माग गरेको छ। साथै, दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।
यसअघि जिल्ला अदालत कपिलवस्तुले कुटपिटसम्बन्धी मुद्दामा अनुसन्धानका लागि सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। उनीमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप लागेको छ।
जिल्ला अदालतको पक्राउ पुर्जी गैरकानुनी रहेको दाबी गर्दै सांसद शाह सर्वोच्च अदालत पुगेका हुन्। सर्वोच्च अदालतको अन्तिम निर्णय नआएसम्म पक्राउ पुर्जी कार्यान्वयन नहुने भएको छ भने मुद्दाको थप सुनुवाइपछि अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा खारेज गर्ने विषयमा निर्णय गर्नेछ।

























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













