कपिलवस्तु बर्गद्दा घटनाका मृतकलाई शहीद घोषणा गर्न सांसद शाहको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२, बर्गद्दामा भएको साम्प्रदायिक तनावका क्रममा मृत्यु भएका अरुण यादवलाई तत्काल शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहले बर्गद्दा घटनामा घाइते भएका सबैको हालसम्मको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने मागसमेत गरे। उनले समान प्रकृतिका घटनामा सरकारले फरक–फरक व्यवहार गरेको भन्दै सरकारको आलोचना गरे।
सांसद शाहले भने, “कपिलवस्तु घटनाका मृतक स्व. अरुण यादवलाई तत्काल शहीद घोषणा गरी घाइतेहरूको हालसम्मको पूर्ण उपचार खर्चको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु।”
उनले सुनसरी घटनाका पीडितलाई शहीद घोषणा, परिवारका सदस्यलाई सरकारी जागिर तथा राहतको व्यवस्था गरिए पनि कपिलवस्तु बर्गद्दाका पीडितले उपचार खर्चसमेत नपाएको गुनासो रहेको बताए।
“न्याय भूगोल, समुदाय वा राजनीतिक पहुँचका आधारमा बाँडिने वस्तु होइन,” शाहले भने, “संविधानले सबै नागरिकलाई समान संरक्षणको हक दिएको छ। तर, उस्तै प्रकृतिका घटनामा राज्यले फरक व्यवहार गर्दा नागरिकको राज्यप्रतिको विश्वास कमजोर हुँदै जान्छ।”
शाहका अनुसार २०८२ चैत ७ गते कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ बर्गद्दामा भएको साम्प्रदायिक तनाव र हालै सुनसरीमा दोहोरिएको घटनाको प्रकृति, पृष्ठभूमि तथा संवेदनशीलता समान थियो। दुवै घटनाले सामाजिक सद्भाव, भाइचारा तथा स्थानीय शान्ति सुरक्षामा गम्भीर असर पारेको उनको भनाइ छ।
तर, समान प्रकृतिका घटनामा राज्यको उपस्थिति, राहत, क्षतिपूर्ति, कारबाही र अनुसन्धानको प्रक्रियामा फरक व्यवहार देखिएको शाहले आरोप लगाए।
“एउटा घटनामा सरकारले देखाएको अस्वाभाविक तत्परता, राहत, क्षतिपूर्ति र कारबाहीको तदारुकता तथा अर्को घटनामा अपनाइएको मौनता, उदासीनता र फितलो अनुसन्धानले राज्यको दोहोरो मापदण्डलाई नाङ्गो रूपमा उदाङ्गो पारेको छ,” उनले भने।
देशका विभिन्न भागमा श्रृङ्खलाबद्ध रूपमा भइरहेका साम्प्रदायिक घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सांसद शाहले पीडित सबैलाई समान व्यवहार, न्याय, राहत तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













