बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख सहयोग
काठमाडौँ, भदौ १७ गते । रसुवाको भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीका कर्मचारीबाट संकलित राहत रकमबाट जनही १० लाख रुपियाँ तत्काल उपलब्ध गराइने भएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै मृतक प्रहरी कर्मचारीका परिवारजनप्रति समवेदना व्यक्त गर्दै हालसम्म फेला नपरेका प्रहरी कर्मचारीको खोजीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । परिवारका सदस्यसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गरेर खोजी कार्य अघि बढाइने जनाइएको छ ।
दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋणसमेत मिनाहा गर्ने निर्णय बैठकले गरेको छ । मृतक प्रहरी कर्मचारीका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय पनि भएको छ ।
त्यसैगरी मृतक प्रहरी कर्मचारीका सन्ततिलाई शैक्षिक वृत्तिअन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म तथा नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा उच्च तहसम्म अध्ययनका लागि शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
बाढीबाट प्रभावित प्रहरी एकाइमा कार्यरत प्रहरी कर्मचारीका व्यक्तिगत सामग्रीमा भएको क्षतिको राहतस्वरूप जनही ५० हजार रुपियाँ उपलब्ध गराइने भएको छ । इप्रका टिमुरे, अप्रपोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीलाई उक्त रकम उपलब्ध गराइने जनाइएको छ ।
दिवंगत, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका आफन्तलाई खोजतलास, उपचार तथा आवश्यक सेवा–सुविधा प्राप्तिमा सहजीकरण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागबाट एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोक्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी भोटेकोशी–त्रिशूली नदीको बाढीबाट भएको क्षतिमा राहत पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल प्रहरीले ४० करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













