कपिलवस्तु, भदौ १८ गते । पुत्रको दीर्घायु, सुख–शान्ति र समृद्धिको कामना गर्दै हिन्दु मधेसी समुदायका महिलाले बुधबार कपिलवस्तुसहित तराई–मधेसका विभिन्न स्थानमा तीन छठ्ठी (हल) पर्व धुमधामसँग मनाएका छन् ।

पर्वका अवसरमा व्रतालु महिलाले बिहानै स्नान गरी व्रत बसेर पूजा, पाठ तथा भजनकीर्तन गरेका थिए । पूजा गर्न आवश्यक महुवाको पात र कुश लिन तिलौराकोट आसपासका जंगलमा बिहानैदेखि महिलाको भीड लागेको थियो । तौलिहवास्थित प्रहरी कार्यालय परिसरबाहिर, नेपाली सेनाको ब्यारेक, चौबिस हजार नहरलगायत कुश पाइने स्थानमा व्रतालु महिलाको उल्लेख्य भीड देखिएको थियो । कतिपय महिलाले भने घरमै कुशको पूजा गरेका थिए ।

भदौ शुक्ल षष्ठीका दिन मनाइने यस पर्वमा विशेषगरी पुत्र हुने महिलाले सन्तानको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ । पुत्र नभएका महिलाले पुत्र प्राप्तिको कामना गर्दै पनि यो व्रत बस्ने गरेको अवधी कवि राघवेन्द्र श्रीवास्तवले बताउनुभयो ।

शिक्षिका सचिता श्रीवास्तवले तीन छठ्ठी माताको व्रत बस्दा परिवारमा सुख, शान्ति र फलीफाप हुने जनविश्वास रहेको बताउनुभयो ।

पर्वका दिन व्रतालु महिलाले महुवाको दतिवनले दाँत माझ्ने चलनसमेत रहेको छ । व्रत सकेपछि हलो नजोतिएको खेतमा उत्पादन भएको अन्न अर्थात् तिन्नीको चामलको भात र साग खाने परम्परा छ ।

पूजाका लागि चिनी नहालेको दही, बेसार, चामल, महुवा र चनाको मिश्रण तयार गरी प्रसाद बनाइन्छ । प्रत्येक व्रतालु महिलाले तीन वटा पनास र सात वटा महुवाका पातमा उक्त प्रसाद राखेर कुशको पूजा गर्ने गर्छन् । पूजाका क्रममा कुशमा छ वटा गाँठो बाँध्ने परम्परा रहेको छ । कुशको सामूहिक पूजा सम्पन्न भएपछि महिलाहरू समूहमा बसेर तीन छठ्ठी पर्वसँग सम्बन्धित कथा सुनाउने गर्छन् ।

कपिलवस्तु नगरपालिका–२ जमुहार टोलकी अनिता त्रिपाठीले पछिल्लो एक दशकयता तीन छठ्ठी पर्व मनाउने महिलाको संख्या बढ्दै गएको बताउनुभयो ।

भदौ शुक्ल षष्ठीका दिन भगवान् बलरामको जन्म भएको विश्वासका आधारमा उहाँको पूजा गर्दै सन्तान र श्रीमान्को दीर्घायुको कामना गर्न यो पर्व मनाउने गरिएको स्थानीय भक्तजन बताउँछन् । यस पर्वसँग सम्बन्धित विभिन्न छ वटा कथा रहेको उनीहरूको भनाइ छ ।

पर्वसँग जोडिएको एउटा प्रचलित कथाअनुसार वैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेपछि पोखरी खनाएका थिए । पोखरी खने पनि पानी नआएपछि राजाले आफ्नो नातिको बलि दिएपछि पोखरीमा पानी निस्किएको कथन छ । त्यसपछि राजाकी बुहारीले तीन छठ्ठी देवीको व्रत बसेपछि मृत नाति पुनः जीवित भएको प्रसङ्गसँग जोडेर यो व्रत बस्ने परम्परा सुरु भएको जनविश्वास रहेको छ ।