कपिलवस्तु, भदौ २२ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तौलिहवा उद्योग वाणिज्य सङ्घले सोमबार तौलिहवामा शोक सभा तथा दीप प्रज्वलन गरेको छ ।

तौलिहवा प्रशासन चोक अगाडि आयोजित कार्यक्रममा बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा मृतकको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो ।

कार्यक्रममा तौलिहवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गयादिन कुर्मी, सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्य, उद्योगी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

अध्यक्ष कुर्मीले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपत्तिको यस दुःखद घडीमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले विपत्तिमा परेकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ । विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व हो ।”

कार्यक्रममा सहभागीले दीप प्रज्वलन गर्दै बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झना गरेका थिए । साथै बेपत्ता नागरिकको खोजी तथा प्रभावित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरिएको थियो।