कपिलबस्तु, भदौ २४ गते । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन रहेका छन् ।

मङ्गलबारसम्मको विवरणअनुसार लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बर्दियाका ७६ जना सम्पर्कविहीन छन् । त्यस्तै दाङका ५४, रोल्पाका २४, बाँकेका २३, रुपन्देहीका १९, पाल्पाका नौ, प्युठानका नौ, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का नौ, अर्घाखाँचीका आठ, गुल्मीका सात, कपिलवस्तुका छ र रुकुम पूर्वका चार जना सम्पर्कविहीन रहेका छन् ।

यसैगरी, बाढीपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १५८ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये ५२ महिला, ९० पुरुष, छ बालक, छ बालिका र चार जनाको लिङ्ग पहिचान हुन नसकेको केन्द्रले जनाएको छ ।

त्यहाँ ६४ वटा शरीरका अङ्गसमेत फेला परेका छन् । शव र शरीरका अङ्ग गरी फेला परेको कुल सङ्ख्या २२२ पुगेको छ ।

फेला परेका शवमध्ये नौ जनाको सनाखत भएको छ । सनाखत भएकामा एक महिला र आठ पुरुष रहेका छन् । बाँकी शव तथा शरीरका अङ्गमध्ये १४२ शव र ६४ शरीरका अङ्ग गरी २०६ वटा व्यवस्थापन गरिएको विवरणमा उल्लेख छ ।

बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा फेला परेका शव र शरीरका अङ्गको पहिचान एवं व्यवस्थापन कार्य जारी रहेको जनाइएको छ ।