कपिलबस्तु, भदौ २४ गते । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलले प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्न सिफारिस गरेको छ । संसदीय दलको कार्यालयले काफ्लेले पार्टी र संसदीय दलको निर्णय विपरीत गतिविधि गरेको भन्दै उहाँलाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गर्न पार्टी केन्द्रीय समितिले गरेको निर्णय र सिफारिस प्रदेशसभा सचिवालयमा पठाएको हो ।
प्रदेशसभा सचिवालयले बुधबार जारी गरेको ‘दल त्यागसम्बन्धी सूचना’मा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम जानकारी प्राप्त भएको उल्लेख छ । सोही ऐनको दफा ३५ को उपदफा ९२० बमोजिम सूचना प्रदेशसभा सचिवालयको सूचनापाटीमा टाँस गरी आवश्यक कारबाही अघि बढाउन प्रदेशसभा सचिवलाई निर्देशन दिइएको छ ।
सूचनाअनुसार पार्टीले काफ्लेलाई पटक–पटक स्पष्टीकरणको अवसर दिँदा समेत पार्टी र संसदीय दलको निर्णयविपरीत कार्य गरेको ठहर गर्दै उहाँलाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय समितिको निर्णय र सिफारिस सहितको पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भएपछि प्रदेशसभा सचिवालयले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ बमोजिम प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनामा हाल प्रदेशसभाको अधिवेशन चालु नरहेको अवस्थामा समेत कानुनबमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको जनाइएको छ ।

काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशित भएसँगै लुम्बिनी प्रदेशसभामा एक सदस्य  घटेको छ । अब लुम्बिनी प्रदेशसभामा ८२ जना सदस्य कायम भएका छन् ।