कपिलवस्तु, भदौ २८ गते । कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेजले स्वास्थ्य क्षेत्रमा गर्दै आएको कामलाई निरन्तरता दिँदै अब कृषि क्षेत्रमा समेत कार्यक्रम विस्तार गर्ने जनाएको छ ।
संस्थाको २३ औँ वार्षिक साधारण सभामा सहभागी वक्ताले संस्थाले स्वास्थ्य, पोषण, खाद्य सुरक्षा, प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा पु¥याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा कृषि क्षेत्रमा पनि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख रमेश कुर्मीले संस्थाले विगतमा स्वास्थ्य तथा कृषि लगायतका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । समाजका पछाडि परेका तथा आवश्यकतामा रहेका समुदायलाई सहयोग गर्दै आएको संस्थाले आगामी दिनमा पनि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले सरकारी निकायले गर्नुपर्ने कतिपय काम गैरसरकारी संस्थाले समुदाय स्तरमा पुगेर गरिरहेको बताउनुभयो । पोषण, खाद्य सुरक्षा, प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पु¥याएको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
“स्वास्थ्य क्षेत्रका सूचक सुधारमा संस्थाले महत्वपूर्ण योगदान पु¥याएको छ,” उहाँले भन्नुभयो, “अब कृषि क्षेत्रमा पनि काम गर्ने सुरुवात हुँदैछ । यी क्षेत्रमा सञ्चालन हुने कार्यक्रम अझ प्रभावकारी र उपलब्धि मूलक बन्नुपर्छ ।”
गैरसरकारी संस्था महासङ्घ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेले संस्थाले विगतको तुलनामा पछिल्लो समय अझ प्रभावकारी रूपमा काम गर्दै आएको बताउनुभयो । समुदायमा सकारात्मक परिवर्तन ल्याउन गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खागप्रसाद चापागाईँले गैरसरकारी संस्थाले समुदायमा गरेका कामको प्रचारप्रसार तथा सकारात्मक अभ्यासलाई सार्वजनिक गर्न पत्रकारिता क्षेत्रले सहकार्य गर्नुपर्ने बताउनुभयो । गैरसरकारी संस्थासँग सहकार्य गर्दै पत्रकार महासङ्घले सामाजिक क्षेत्रमा भएका गतिविधिलाई बाहिर ल्याउन भूमिका खेल्दै आएको उहाँले बताउनुभयो ।
कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले स्वास्थ्य क्षेत्रमा संस्थाले स्थानीय तहसँग सहकार्य गरेर महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । विशेषगरी घरमै स्वास्थ्य सेवा पु¥याउने ‘होम डेलिभरी’ कार्यक्रमबाट समुदाय लाभान्वित भएको उहाँको भनाइ छ ।
संस्थाको सहयोगमा कपिलवस्तु नगरपालिकामा ७६० जनासम्मको तथ्याङ्क सङ्कलन तथा घरमै सेवा पु¥याउने कार्य भएको उहाँले जानकारी दिनुभयो । हाल पनि ५५ वटा ‘होम डेलिभरी’ सेवा सञ्चालनमा रहेको बताउँदै उहाँले बाल तथा मातृ स्वास्थ्यका क्षेत्रमा अझै थप सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
खानेपानीको गुणस्तर तथा समुदायमा स्वच्छ खानेपानीको पहुँचका विषयमा समेत आगामी दिनमा संस्थाले सहयोग गर्नुपर्ने गुप्ताको सुझाव दिनुभयो ।
संस्थाका सल्लाहकार विनयकुमार पाण्डेले संस्थाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । आगामी दिनमा संस्थाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन समुदायको आवश्यकता र स्थानीय तहसँगको समन्वयलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
सभामा संस्थाका महासचिव राम विनोद चौधरीले वार्षिक प्रगति प्रतिवेदन र दिग्विजयनाथ पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका सदस्य अनिरुद्घ शुक्लाले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार तथा संस्थाका सदस्यको सहभागिता थियो । कार्यक्रमको सञ्चालन कमला शुक्लाले गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष फरजाना खानको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थाले सञ्चालन गरेका कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा स्वास्थ्यसँगै कृषि लगायतका क्षेत्रमा काम विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।