तराईको जंगलदेखि सभ्यताको निर्माणसम्म : थारू समुदायको इतिहास र योगदान
थारु समुदायको ईतिहास :
तराई आज नेपालको सबैभन्दा उर्वर, घना बस्ती भएको र आर्थिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण भूभागका रूपमा चिनिन्छ । यहाँ ठूला–ठूला शहरहरू छन्, आधुनिक सडक तथा पूर्वाधार छन्, खेतीयोग्य विशाल जमिन छ र विभिन्न समुदायको साझा बसोबास छ । तर आजको यो विकसित तराई सधैँ यस्तै थिएन ।
कुनै समय नेपालको तराई भूभागको ठूलो हिस्सा घना जंगलले ढाकिएको थियो । औलो अर्थात् मलेरिया जस्ता रोगको व्यापक जोखिमका कारण बाहिरी क्षेत्रबाट यहाँ आएर स्थायी रूपमा बसोबास गर्न कठिन अवस्था थियो । यस्तो प्रतिकूल प्राकृतिक र स्वास्थ्य अवस्थाबीच पनि थारू समुदायले पुस्तौँ देखि तराईमा आफ्नो जीवन, संस्कृति र सामाजिक संरचना विकास गर्दै आएको ऐतिहासिक तथ्यलाई गम्भीरतापूर्वक अध्ययन गर्न आवश्यक छ ।
थारू समुदायको तराईसँगको सम्बन्ध केवल बसोबासको सम्बन्ध मात्र होइन, यो भूमि, जंगल, नदी, प्रकृति, कृषि र स्थानीय जीवनपद्धति सँग गहिरोसँग जोडिएको सम्बन्ध हो । थारू समुदायले तराईको वातावरण सँग अनुकूलित हुँदै जंगल र प्राकृतिक स्रोतमा आधारित जीवनशैली विकास गर्यो । जंगल सँग संघर्ष गर्दै, उपलब्ध जमिनलाई कृषि र बसोबासका लागि उपयोग गर्दै तथा स्थानीय स्रोत साधनको संरक्षण र सदुपयोग गर्दै थारु समुदायले आफ्नो सामाजिक जीवन अघि बढायो ।
तराईको जंगल फडानी गरेर बस्ती योग्य र कृषियोग्य जमिन निर्माण गर्ने प्रक्रियामा थारू समुदायको श्रम र योगदानलाई इतिहासमा पर्याप्त रूपमा स्थान दिइएको छ कि छैन भन्ने प्रश्न आज पनि महत्वपूर्ण छ । पुस्तौँ देखि जमिनसँग जोडिएर खेतीपाती गर्ने, प्राकृतिक जोखिम सँग जुध्ने, स्थानीय ज्ञान र परम्परा पुस्तान्तरण गर्ने तथा आफ्नो श्रमबाट उत्पादनको आधार तयार गर्ने समुदायलाई केवल आजको सामाजिक–आर्थिक अवस्थाका आधारमा मूल्याङ्कन गर्नु इतिहासप्रतिको न्यायपूर्ण दृष्टिकोण हुन सक्दैन ।
तराईको इतिहास बुझ्दा मलेरियाको इतिहासलाई पनि अलग गर्न सकिँदैन । विशेषगरी विगतमा तराईका धेरै क्षेत्रमा औलो ठूलो स्वास्थ्य चुनौती थियो । यसले बाहिरी क्षेत्रबाट आउने मानिसका लागि स्थायी बसोबास कठिन बनाएको थियो । यस्तो अवस्थामा पुस्तौँ देखि तराईमा बस्दै आएका थारू समुदायले स्थानीय वातावरण अनुकूल जीवनशैली विकास गरेका थिय । यससँग सम्बन्धित परम्परागत ज्ञान, खानपान, आवासीय शैली, कृषि प्रणाली तथा प्राकृतिक वातावरणसँगको सम्बन्ध थारू समुदायको जीवनपद्धतिको महत्वपूर्ण पक्ष बने । यसकारण तराईको इतिहास केवल राणशासन काल, राजदरबार, प्रशासन वा आधुनिक शहर निर्माणको इतिहास होइन । यो जल, जंगल, जमिन र रोगसँग संघर्ष गर्दै पुस्तौँ सम्म जीवन धानेका स्थानीय थारु समुदायहरूको इतिहास पनि हो ।
आधुनिक तराईको निर्माणमा थारु समुदायको योगदान :
आजको तराई कसरी बन्यो..? कुनै समय नेपालको तराई भूभागको ठूलो हिस्सा घना जंगलले ढाकिएको थियो । औलो अर्थात् मलेरिया जस्ता प्राणघातक रोगको व्यापक जोखिमका कारण बाहिरी क्षेत्रबाट यहाँ आएर स्थायी रूपमा बसोबास गर्न कठिन अवस्था थियो । यस्तो प्रतिकूल प्राकृतिक वातावरण र स्वास्थ्य अवस्थाका बीच थारु समुदायले संघर्ष गरि(गरि तराई क्षेत्रलाई बसोबास योग्य बनायो । आज हामी तराई क्षेत्रमा देख्ने विशाल खेत, बजार, सडक, शहर र बस्ती धेरै चरणको ऐतिहासिक परिवर्तनको परिणाम हुन् । जंगल क्षेत्र क्रमशः कृषि तथा बसोबासमा परिणत भयो । पछि औलो नियन्त्रण, स्वास्थ्य सेवाको विस्तार, यातायातको विकास, पहाडबाट तराईतर्फको बसाइँसराइ तथा राज्यका विभिन्न नीतिका कारण तराईमा जनसंख्या तीव्र रूपमा बढ्यो । यस परिवर्तनले तराईलाई बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा परिणत गर्यो तर यस प्रक्रियामा पहिलेदेखि यहाँ बसोबास गर्दै आएका थारू समुदायको ऐतिहासिक योगदानलाई ओझेलमा पार्नु उचित हुँदैन, जुन चाँही अहिले पारिएको छ ।
थारु समुदायको बर्तमान अवस्था :
योगदान गर्ने समुदाय नै किन पछाडि पर्यो ? सबैभन्दा गम्भीर प्रश्न यहीँबाट सुरु हुन्छ । जसले कठिन प्राकृतिक वातावरणमा जीवनको आधार निर्माण गर्यो, जसले पुस्तौँसम्म जमिनमा श्रम गर्यो, जसको आफ्नै भाषा, संस्कृति, परम्परा, कृषि प्रणाली र सामाजिक संस्था थिए, त्यही समुदाय समयक्रममा सामाजिक तथा आर्थिक रूपमा पछाडि परेको अवस्थामा कसरी पुग्यो ?
सभ्यता निर्माणमा यति ठूलो योगदान हुँदाहुँदै पनि थारू समुदायले इतिहासमा ठूलो उत्पिडन भोग्नुपर्यो । वि.सं.२०११ सालपछि तराईबाट औलो उन्मूलन भएपछि अन्य क्षेत्रबाट बसाइँसराइ तिव्र भयो । यस क्रममा सोझा साझा र लेखपढ नगरेका थारूहरूको भूमि भूमाफिया र टाठाबाठाहरूले हडपे । फलस्वरूप, आफ्नै भूमिमा उनीहरू कमैया र कमलरीका रूपमा बाँच्न बाध्य भए । यद्यपि, वि.सं. २०५७ मा कमैया मुक्ति र पछि कमलरी प्रथाको उन्मूलन त भयो तर यो समुदायको बिस्तारै शिक्षा र स्वास्थ्यमा असमान पहुँच, भूमिसम्बन्धी परिवर्तन, आर्थिक स्रोतमा सीमित पहुँच, राज्यका नीतिहरू, राजनीतिक प्रतिनिधित्वको न्युन अवस्था, आधुनिक रोजगारीमा कम सहभागिता, पराम्परागत कृषी प्रणाली र ऐतिहासिक तथा राजनितिक रूपमा उत्पन्न विभिन्न सामाजिक–आर्थिक परिस्थितिको कारणले यो समुदाय अरु समुदायभन्दा पछी परयो ।
थारु समुदायको उत्थानको लागी अबको आवश्यकता :
थारू समुदायको इतिहासलाई सम्मान गर्नु भनेको केवल थारू समुदायको सम्मान गर्नु होइन । यो नेपालको तराई क्षेत्रको इतिहास, श्रम, संस्कृति र सभ्यताको सम्मान गर्नु हो ।
जसको पुस्तौँको पसिनाले भूमि उर्वर बन्यो, जसको कला संस्कृतिले तराईको पहिचानलाई समृद्ध बनायो, उसको इतिहासलाई इतिहासकै पानामा सम्मानजनक स्थान तथा थारु समुदायलाई जातिय पहिचान, सम्मान तथा संरक्षण र विकासमा समान अवसर दिनु हो ।
थारु समुदाय अन्य समुदायको तुलनामा पछि पर्नुको मुख्य कारण नै समुदाय बिचमा एकता नहुनु हो । अधिकार प्राप्तिका लागि राज्यको भूमिका जति महत्वपूर्ण छ, समुदायको आफ्नै एकता, जागरूकता र नेतृत्व पनि उत्तिकै महत्वपूर्ण हुन्छ । नेपालको संविधानमा आदिवासी जनजातिको हक अधिकारको सुनिश्चितता गरे अनुसार थारु जातिको जनसंख्या र नेपालको राजनितिमा सक्रिया र महत्वपुर्ण स्थान रहेको छ । राज्यद्धारा ग्यारेन्टी गरिएको समावेशिताको सिद्धान्त अर्न्तगत तिन तहकै सरकारमा उल्लेख्य सहभागिता रहे अनुसार नै बेला बखतमा आफ्नो हक अधिकार प्राप्तीका लागी संघर्षरत रहेको पनि पाईएको छ । संविधानले प्रदान गरेको हकहरुको समुचित उपभोग र समाबेसीता अनुसार सहभागिता र पहुँचमा कमि देखिएको छ । चाहे त्यो पहुँच शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक राजनितिक ससक्तिकरणमा पहुँच पुग्न नसक्नुको मुख्य कारण आफ्नो हक अधिकारप्रति सचेत नहुनु र चेतनाको कमि नै मुख्य कारण रहेको भए पनि राज्यले स्थानिय तहको संरचनामा वडा स्तरमा निर्वाचित हुने वडा सदस्यहरुमा महिला, दलित भने जस्तै ति सदस्य मध्ये थारु बाहुल्यता क्षेत्रमा एक जना थारु जातिको स्थान सुरक्षित भईदिएको अवस्थामा राजनितिमा सक्रिय सहभागिता रहनुका साथै आदिवासी जनजातिको चेतना एवं सशक्तिकरणमा प्रमुख स्थान हुने थियो ।
थारू समुदायका विभिन्न संघ संस्था, अगुवा, बुद्धिजीवी, युवा, महिला, विद्यार्थी, जनप्रतिनिधि तथा सामाजिक अभियन्ताबीच सहकार्य र समन्वय आवश्यक छ । अधिकारबारे जानकारी नभए अधिकारको उपयोग गर्न कठिन हुन्छ । त्यसैले संविधानले प्रदान गरेका अधिकार, कानूनी व्यवस्था र राज्यका अवसरबारे समुदायस्तरमा व्यापक जनचेतना जगाउन आवश्यक छ ।























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













