कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु नगरपालिका नगर सभापति तथा वडा अध्यक्ष प्रकाश गैरेले आगामी स्थानीय तह निर्वाचनमा नगर प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने दाबेदारी प्रस्तुत गर्नुभएको छ ।

सोमबार तौलिहवास्थित पार्टी कार्यालयमा नेपाली कांग्रेस नगर कार्यसमितिले आयोजना गरेको विजयादशमी, दीपावली, छठ तथा नेपाल संवत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मन्तव्य राख्ने क्रममा गैरेले मेयरमा उम्मेदवारी दिने आकांक्षा सार्वजनिक गर्नुभएको हो ।

तीन पटक वडा अध्यक्ष भएर काम गरिसक्नुभएका गैरेले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर तीन दशकदेखि इमानदारीपूर्वक काम गर्दै आएको उल्लेख गर्दै आफ्नो योगदानको पार्टीका नेता, कार्यकर्ता तथा अग्रजहरूले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, प्रदेश सदस्य सुधाकर पाण्डेय, पार्टी जिल्ला सभापति अब्दुल कलाम, नेता अतहर कमाल, राजेश आचार्य, सहसराम यादव लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।