तनहुँ : लगातारको भारी वर्षापछि तनहुँमा बाढीपहिरोले क्षति गरेको छ ।
बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको हो ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए ।
सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् ।
पहिरोका कारण चार घर जोखिममा रहेको उनले जानकारी दिए ।
पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए ।
घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताए ।
घटनास्थल जाने बाटोहरु पहिरोले अवरुद्ध भएका कारण जनप्रतिनिधिहरु हिँडेर घटनास्थल जाँदै गरेको उपप्रमुख गुरुङले जानकरी दिए ।
रातभर परेको अविरल वर्षाले व्यास १ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको छ । पुल बगेपछि बिहानैदेखि दुई वडाको सम्पर्क विच्छेद भएको छ ।
अविरल वर्षाले पहिरो झर्दा ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।
त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
राजमार्ग अवरुद्ध भएपछि बिहान ३ बजेदेखि प्रहरी राजमार्ग खुलाउन व्यस्त रहेको उनले बताए ।
उनका अनुसार बन्दिपुर गाउँपालिकामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ । बन्दिपुर–१ गुरदुम र बन्दिपुर–४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
बन्दिपुर–४ तामुङमा पहिरोले दुई घर बगाउँदा एक जना बेपत्ता भएको र पाँचको उद्धार भएको जानकारी पाएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए ।
उनका अनुसार पहिरोले बन्दिपुर–३ मा दुई वडा नं ५ मा तीन घर बगाएको खबर आएको छ ।
मानवीय क्षति नभएको र अन्य क्षेत्रमा भएका घटनाको जानकारी लिने प्रयास भइरहेको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !