जनकपुरधाम : सप्तकोसी नदीको बहाव यसवर्षकै उच्च भएको छ ।
आज बिहान ९ बजे मापन अनुसार कोशीमा पानीको बहाव २ लाख ३१ हजार ६ सय ५५ क्युसेक पुगेको हो ।
शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव बढेको हो ।
बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्थामा बिहान भने बहाव एक्कासि बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
सप्तकोसी नदीमा बहाव बढ्नुको मुख्य कारण पहाडी क्षेत्रमा भइरहेको ठूलो वर्षा हो ।
बहाव बढेपछि आज बिहानसम्ममा कोसी ब्यारेजका ३० वटा ढोका खुला गरिएको छ । शुक्रबार रातिसम्ममा २४ वटा मात्रै ढोका खुला गरिएको थियो । कोसी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।
पानीको सतह बढ्दा कोसी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ । पहाडी तथा तराई क्षेत्रमा वर्षा जारी रहेका कारण कोसीको बहाव अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले पानीको सतह अझै बढ्नसक्ने भएकाले सप्तकोसी क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको बताए । ‘सप्तकोसीमा एक्कासि बहाव बढेको छ ।
वर्षा पनि निरन्तर भइरहेकाले अझै बढ्दै जाने देखिन्छ,’ उनले भने, ‘त्यही भएकाले नदीनजिक बसोबास गरिरहेकालाई सुरक्षित र सतर्क रहन आग्रह गरिएको हो । बाढीका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै उद्धारका लागि नेपाल प्रहरीसहितका सुरक्षा निकाय तयारी अवस्थामा छन् ।’
सप्तकोसीमा अधिक बहाव सात लाख क्यूसेकसम्म मापन भएको रेकर्ड छ । एक लाख ६० हजार क्यूसेकसम्मको बहावलाई सामान्य मानिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि खतराको रूपमा लिइन्छ ।
बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बज्छ । त्यसपछि नदीको दक्षिण भेगतिर बसोबास गर्नेलाई सचेत र सतर्क गराइने प्रहरीले जनाएको छ ।
रातो बत्तीले पनि खतराको सङ्केत गर्ने भएकाले सबैलाई सावधानी अपनाउन सजिलो हुने गरेको छ । सप्तकोसीमा पानीको बहाव प्रत्येक दुई–दुई घण्टामा मापन गर्ने गरिएको छ ।
तराई तथा पूर्वी पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । अहिले सप्तकोशीमा पानीको बहाव सवा दुई लाख क्युसेक नाघेको छ ।
तपाईको प्रतिक्रिया !