रोहित महतो
जनकपुरधाम : दिनहुझैं गएको जेठ २० गते विहानैदेखि सुजिता ठाकुरको परिवारमा झै–झगडा सुरु भयो ।
विवाद यतिसम्म उग्र रुप लियो कि उनका देवर, ससुरा, सासु र देवरानीले मिलेर हत्या नै गरिदिए ।
हत्या भएको ३९ औँ दिनमा महोत्तरीको लोहरपट्टी नगरपालिका–७ स्थित उनको आफ्नै जग्गामा शौचालयको सेप्टिक ट्यांकभित्र गाडिएको अवस्थामा आइतवार विहान सुजिताको शव फेला परेको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार घरबाट करिब एक किलोमिटरको दुरीमा रहेको जग्गामा काठ जम्मा गरिएको ठाउँमा निर्माणाधीन सेप्टिक ट्यांकीमुनि खाल्डो खनेर माथिबाट ढलान गरि गाडिएको अवस्थामा शव बरामद भएको हो ।
‘शरिरमा कतै काटिएको छैन् । घाँटी थिचेरै मारेको जस्तो देखिन्छ । पोष्टमार्टम रिपोर्ट आइसकेपछि थप कुरा खुल्छ,’ उनले भने । उनका अनुसार जेठ २० गते विहान करिब ८ बजेतिर झगडाको क्रममा कुटपिट गरि सुजितालाई हत्या गरिएको थियो ।
दिनभरी उनको शव घरमै लुकाएर राखेको र साँझमा खेतमा लगेर गाडेको अनुसन्धानको क्रममा खुलेको छ । ‘आफ्नै खेतमा साँझपख लगेर शव व्यववस्थापन गरेको देखिन्छ । अरुले समेत थाहा पाइसकेको गाइँगुइ सुनेर असार १२ गते त्यहाँबाट शव निकालेर हदभित्र गाडेका थिए,’ डिएसपी विष्टले भने ।
सुजितालाई हत्या गरेकाबेला उनका दुईजना बच्चा घरमै रहेको उनले बताए । हत्या गर्नुअघि विवाद चर्किपछि देवर रुपेश ठाकुरले सुजिताकी बुवालाई समेत फोन गरेका थिए । ‘छोरीलाई सम्झाई बुझाइ गर्न आउन भन्दै रुपेशले हामीलाई फोन गरेका थिए । तर तर १० मिनेटमै फेरि फोन गरेर झगडा सल्टियो आउनु पर्दैन भने ।
त्यहीँ बीचमा मेरी छोरीलाई मारदिएछ,’ सुजिताकी बुवा कामेश्वर पाण्डेयले भने । उनको परिवारमा दैनिकजसो झगडा भइरहने र झगडा सल्टिएको सुनेपछि सुजिताकी माइती पक्षले समेत त्यतीखेर खासै चासो देखाएनन् । करिब डेढा वर्षअघि झगडाकै क्रममा ससुरा पक्षले सुजितालाई निर्घात कुटपीट गरी आँखा सुन्ने बनाइदिएको थियो ।
त्यो घटनाको मिलापत्र जिल्ला प्रहरी कार्यालय महोत्तरीमै भएको थियो । माइती पक्षको अनुसार देबर रुपेश ठाकुरसहित उनको आमा, बुबाले कुटपीट गरेका थिए । तर आइन्दा कुटपीट नगर्ने भनी जिल्ला प्रहरी कार्यालयमा बाउण्ड नै बनेको थियो । छोरीसित कुरा गर्न रातिसम्म प्रयास गर्दा समेत फोन नलागेपछि कामेश्वरलाई रुपेशले फोन गरेका थिए ।
‘रुपेशले भोलिपल्ट विहान ११ बजेतिर फोन गरेर तपाईँको छोरी अर्कैसित भाग्यो भनेका थिए । तर हामी अचम्म पर्यौँ,’ उनले सुनाए । रुपेशले सुजिताकी बुवालाई यसरी न बढाइचढयाई गरि घटनाबारे सुनाए कि माइती पक्षलाई समेत छोरी भागेकै हुनसक्ने शंका भयो ।
‘ती युवकसित सुजिताले फोनमा कुरा गर्ने गरेको विषयमा यसअघि पनि विवाद भएको थियो । त्यो कुरा सबैलाई थाहा थियो । त्यसैले उनको देवर, ससुरा लगायतकाले उल्टै उनको बुवाबाट ईलाका प्रहरी कार्यालय पिपरामा अलिपट्टीका ती युवकले छोरीलाई बेपत्ता पारेको भन्दै खोजदिन आग्रह गर्दै निवेदन पनि दिन लगाएका थिए,’ अधिकारकर्मी गुन्जा रायले भनिन् ।
तर प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दैजाँदा उनको संलग्नता कतै नदेखिएपछि प्रहरीले छोडदिए । तर आफैले समेत पत्ता लगाउँदा सुजितालाई भगाएको भनिएको युवक घरमै रहेको र घटना भएका बेला कतै नगएको देखेपछि कामेश्वरलाई सुजिताकी ससुरा र देवरमाथि नै शंका लाग्न थाल्यो । उनको घरमा पुगेर हेर्दा लत्ताकपडा र गरगहना समेत कोठामै राखेको देखेपछि माइतीपक्ष थप शशंकित भए ।
‘सुजिताकी छोराले पनि सबैले मिलेर आमालाई मारेको बयान दिए । रुपेशले पनि आफुले नै मारेको भनी सुजिताकी दाईलाई फोनमा स्वीकार गरेपछि उनको हत्या भएको खुल्यो,’ अधिकारकर्मी रायले भनिन् । तर प्रहरीले भने घटना अनुसन्धानमा कुनै चासो नदेखाएको सुजिताकी माइतपक्षसँगै अधिकारकर्मी रायको अरोप छ ।
माइती पक्षले सुजिताको हत्या नै भएको धेरै प्रमाणहरु भेट्दा समेत प्रहरीले घटना अनुसन्धानमा चासो नदेखाएपछि विदेशमा रहेका उनका दाईले अधिकारर्मी गुन्जा र सरोज रायलाई हार गुहार लगाएका थिए । उनीहरुको सक्रियताले मात्र प्रहरीले घटनालाई गम्भीरता पुर्वक लिएको बताइन्छ ।
सुजितालाई बेपत्ता पारिएको भन्दै माइत पक्षले गएको जेठ २३ गते नै प्रहरीमा निवेदन दिएका थिए । तर प्रहरीले कुनै वास्ता गरेनन् । ससुरा पक्षले नै सुजिताको हत्या गरेको प्रमाण देखिन थालेपछि असार ४ गते अधिकारकर्मी राय सहित उनको माइती पक्षले ससुरा पक्षविरुद्ध जाहेरी दिन जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेका थिए ।
तर प्रहरीले जाहेरी दर्ता गर्न मानेनन् । फेरि पनि असार ६ गते प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि सुजिताकी माइती पक्षले घटनामा प्रहरीको समेत मिलिमतो रहेको आरोप लगाउन थाले । ‘हामी अनुसन्धान गरिरहेका छोँ । शव नभेट्दासम्म कसरी जाहेरी दर्ता गर्ने ? भागेकै पनि हुनसकछ भनेर एसपीले जवाफ दिन्थे,’ अधिकारकर्मी रायले थपिन्, ‘प्रहरीले निवेदनको आधारमा आरोपीलाई नियन्त्रणमा लिएर कम्तीमा छनविन गर्नुपथ्र्यो । राजनीतिक दबाब र अपराधी परिवारमको प्रलोभनमा परेर प्रहरीले सुनुवाई गरेन् । सूचना दिँदा समेत काम काम गरेन् ।’
जिल्ला प्रहरीले नसुनेपछि महिला आयोग र प्रदेश २ का डिआइजीलाई गुहार लगाउन जाँदा अनुसन्धान अघि बढेको रायले बताइन् । डिआइजी उमेश रन्जितकारले तुरन्त अनुसन्धान गर्न भन्दै डिएसपी ज्ञान कुमार महतोको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली गठन गरे । र छानविन सुरु भयो ।
त्यसै क्रममा स्थानीयको सूचनाको आधारमा प्रहरीले खोजतलास गर्दैजाँदा असार १२ गते सुजिताको ससुरा पतिरामको नाउमा रहेको जग्गामा उत्खनन गर्दा कपाल, नङ र रगत लत्पतिएको माटो फेला परेको थियो ।
शव गलाउन मलखाद र नुनको समेत प्रयोग गरिएको थियो । त्यसपछि सुजिताको हत्या आरोपमा उनका देवर रूपेश ठाकुर र श्रीमान् मुकेश ठाकुरसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएका थिए ।
अनुसन्धान गर्दैजाँदा सुजिता बेपत्ता प्रकरणको गुत्थी खुलेको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेका सुजिताकी ससुरा पतिराम ठाकुर, सासु र देउवरानी सहितका अझै केही व्यक्ति फरार छन । उनीहरुको खोजीकार्य जारी रहेको डिएसपी विष्टको भनाई छ ।
यसकारण भयो हत्या
सुजिताकी माइती पक्षले विहेमा दाइजो नदिएको र देवर रुपेशले एक्लै सम्पति हत्याउन खोज्दा दैनिकजसो विवाद हुने गरेको दावी गरेका छन् । तर प्रहरी अनुसन्धानमा भने सुजिताको पर पुरुषसित अवैध सम्बन्ध रहेको बुझाइले माइती पक्षले मिलेर उनको हत्या गरेको खुलेको छ ।
‘अस्मितासँग जोडिएको विषय भएकाले धेरै कुरा खुलाउन मिल्दैन् । तर अरु केटासँग लागेको, सम्बन्ध बनाएको ससुरा पक्षको बुझाइ थियो । हत्याको मुख्य कारण यहीँ हो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने । त्यसै विषयमा मुख्य रुपमा विवाद भएपछि अंशबण्डा गरि छुट्टिएर बस्ने सुजिताको मनसाय रहेको स्थानीय बताउछन् ।
अनुसन्धानमा खटिएका अर्का प्रहरीका अनुसार लामो समयसम्म रुपेश र सुजिताबीच समेत अवैध सम्बन्ध रहेको आशंका गरिएको छ । ‘सुजिताकी श्रीमान सुस्त मनस्थितीका रहेका कारण पहिले रुपेशसित पनि अवैध सम्बन्ध रहेको कुरा आएको छ । पछि अरुसित पनि कुराकानी र घुमफिर गरेको कुरा आएपछि यीनीहरुबीच विवाद सुरु भयो,’ उनले भने, ‘त्यहाँका केही व्यक्तिहरुसँग बुझ्दा ससुराले पनि यौन शोषण गरेको कुराहरु आएको छ । श्रीमान धेरै नबुझ्ने भएर सबैले फाइदा उठाउन खोजे ।’
हत्याको मुख्य कारण यहीँ रहेपनि सम्पत्ती विषयमा समेत उनको घरमा विवाद हुँदै आएको प्रहरीले जनाएको छ । घटना सम्बनधमा थप अनुसन्धान भइरहेकाले फरार अभियुक्तहरु समेत समातिए थप कुराहरु खुल्ने डिएसपी विष्टले बताए ।
१० वर्ष पहिले सुजिता र मुकेशबीच विवाह भएको थियो । उनका ९ वर्षकी छोरी र पाँच वर्षका छोरा छन् । उनीहरु अहिले मावलीमा छन् ।
तपाईको प्रतिक्रिया !