कृष्णनगर नगरपालिका वडा नं. ३ मा एक नव विवाहित महिलाको मृत्यु रहस्यमय बनेको छ । स्थानीय गोविन्द कौशलकी २६ वर्षीय पत्नी सरस्वती कौशलको मृत्युलाई परिवारजनले आत्महत्या र मृतकका माईती पक्षले हत्या हो भन्ने सूचना प्रहरीलाई दिए पछि घटना रहस्यमय बनेको हो ।
मृतक सरस्वतीका दाजु संजय कौशलले मृतकका पति गोविन्द कौशल, जेठाजु बृजेश कुमार कौशल र सासु कान्तिदेवी कौशल उपर आफ्नो वहिनीको हत्या गरेको किटानी जाहेरी ईलाका प्रहरी कार्यालय कृष्णनगरमा दिएका छन् । घटना बारे सुक्ष्म अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।
मृतक सरस्वतीको गत जेठ २२ गते मागी विवहा भएको थियो । मृतक बहिनीलाई विवहा पछि दाईजोको रुपमा मोटरसाईकल थप चाहियो भन्दै आफ्ना ज्वाई र उनको घरपरिवारबाट पटक पटक मानसिक यातना दिने गरिएको मृतकका दाजु संजयले बताए । बहिनीको हत्यालाई आत्महत्या बनाएर घटनालाई मोड्न खोजिएको उनको आरोप छ ।
आत्महत्याको घटना थियो भने, प्रहरीलाई खबर नगरिनु, कोठा भित्रको चुक्कुल नलगाएको अवस्था हुनु, शवलाई प्रहरी आउनु भन्दा पहिल्यै झुण्डेको अवस्थाबाट तल झारिनु जस्ता गतिविधीबाट पनि हाम्रो बहिनीको हत्या गरिएको हो भन्ने हामीलाई लागेको छ, दाजु संजयले भने, “घटनाको सत्य तथ्य छानविन गरी दोषी उपर कडा कारवाही हुनु पर्छ ।” मृतकका पति र उनको घर परिवारले भने घटना आत्म हत्या नै भएको दाबी गरिरहेका छन् ।
शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिर्पोट आए पछि घटना हत्या वा आत्महत्या हो भन्ने प्रष्ट हुने प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !