मुस्लिम मुलुक बङ्गलादेशले बुद्धजन्मस्थल लुम्बिनीमा बौद्ध बिहार बनाउने भएको छ । लुम्बिनी बिकास कोषको बिहार क्षेत्रभित्र पश्चिमतर्फ रहेको ८० वर्गमिटरको प्लटमा बङ्गलादेशले बौद्ध बिहार बनाउने निर्णय गरेको हो ।
नेपाल–बङ्गलादेश सम्बन्ध सुमधुर बनाउन तथा साँस्कृतिक पर्यटन बिस्तार गर्न बङ्गलादेशले बुद्धजन्मस्थल लुम्बिनीमा बौद्ध बिहार बनाउने समझौता भएको बताइएको छ ।
लुम्बिनीमा आयोजित एक कार्यक्रममा विकास कोषका तर्फबाट उपाध्यक्ष अवधेश त्रिपाठी तथा नेपालका लागि बङ्गलादेशी राजदूत सलाहुद्दीन नोमान चौधरीले सम्झौतापत्रमा हास्ताक्षर गरेका हुन् ।
कुल १८ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा ९२ प्रतिशत मुस्लिम धर्मावलम्बी रहेका छन् । एक करोड बौद्धधर्म मान्ने जनसङ्ख्या भएको बङ्गलादेशले तीन वर्षभित्र बौद्ध बिहार निर्माण सम्पन्न गरिसक्नुपर्ने समझौतामा उल्लेख गरिएको छ । सन् १९७२ मा लुम्बिनीको विकासका लागि गठन भएको अन्तराष्ट्रिय समितिमा पनि बङ्गलादेश सदस्य राष्ट्रको रूपमा रहेको छ ।
बङ्गलादेशले लुम्बिनीको विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै विकास कोषका उपाध्यक्ष त्रिपाठीले मुस्लिम देशबाट लुम्बिनीमा हुने बौद्ध बिहारको निर्माणले सकारात्मक सन्देश प्रवाह हुने बताए ।
लुम्बिनी बिकास कोषले लुम्बिनी विकास क्षेत्रभित्र बिहार निर्माण गर्न चाहने देशलाई ९९ वर्षका लागि लिज सम्झौतामा प्लट दिने गरेको छ । बङ्गलादेश सरकारले बौद्धबिहार बनाउने भएपछि लुम्बिनीमा अब १८ देशको प्रतिनिधिमूलक बिहार निर्माण हुने भएको छ ।
तपाईको प्रतिक्रिया !