काठमाडौं । सल्यान, मकवानपुर, मोरङ, सर्लाही, महोत्तरी, झापा, सुनसरी र ताप्लेजुङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । सल्यान, कपुरकोट गाउँपालिका-५ खारखोलास्थित सडकमा सल्यान खलंगाबाट दाङ तुलसिपुरतर्फ जाँदै गरेको रा.१ ख २५५२ नम्बरको बस सडकदेखि अन्दाजी २ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ९ जनाको घटनास्थलमै र ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यान, ईलाका प्रहरी कार्यालय लुहाम, प्रहरी चौकी कपुरकोट तथा सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २८ जनालाई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल, शारदा मेट्रो अस्पताल, कान्तिपुर अस्पताल र परोपकार अस्पतालतर्फ पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरस्थित सडकमा बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसको ठक्करबाट सोही उपमहानगरपालिका.१९ नेवारपानी बस्ने २० वर्षीय सुरज बिष्ट र चितवन पिप्ले-३ बस्ने ३४ वर्षीय प्रेम बहादुर सिंह ठकुरीको शनिबार राति मृत्यु भएको छ । बाटोको छेउमा रहेको घरमा देउसी भैलो खेलिरहेको अवस्थामा उक्त बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरुको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै उक्त बसको ठक्करबाट घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सोही बसको ठक्करबाट बा.७७ प ६८५० र बा.६५प ३३२७ नम्बरको मोटरसाइकलमा समेत क्षति भएको छ । उक्त बिषयलाई लिएर आक्रोसित भिडले बसमा तोडफोड तथा आगजनी गर्दा बस पूर्णरुपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले भिडलाई सम्झाई बुझाई गर्नुका साथै प्रहरी माथी ढुङगा प्रहार गरी बाटो अवरोध गराउन संलग्न १ जना र बस चालकलाई समेत नियन्त्रणमा लिएको छ ।
मोरङ, केराबारी गाउँपालिका-९ बेलचौरीस्थित भित्री सडकमा को.४० प १७२७ नम्बरको मोटरसाइकल र बा.१० च ४३०० नम्बरको स्कारपियो एक-आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक लेटाङ नगरपालिका-२ बस्ने ३० वर्षीय कमल कार्की र मोटरसाइकलमा सवार मोरङ पथरी बस्ने ५५ वर्षीय कुल बहादुर सुबेदीको घटनास्थलमै र मोटरसाइकलमा सवार लेटाङ नगरपालिका-२ बस्ने ४५ वर्षीया सिता कार्कीको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङ, ग्रामथान गाउँपालिका-२ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट को.१२ प १६७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खस्दा मोटरसाइकल चालक कटहरी गाउँपालिका-५ बस्ने २१ वर्षीय आशिष सरदारको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी मोरङ, रंगेली नगरपालिका-६ पिपलस्थित सडकमा साईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा साईकलयात्री सुनवर्षी नगरपालिका-६ पटियापाडा बस्ने ३० वर्षीय सत्रुघन साहको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि रंगेली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सर्लाही, बागमती नगरपालिका-१२ स्थित सडकमा स.१० प ४०७९ नम्बरको मोटरसाइकल र बा.५५ प १५७८ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा स.१० प ४०७९ नम्बरको मोटरसाइकलमा सवार चन्द्रपुर नगरपालिका-४ बस्ने ४० वर्षीय सुशिल काफ्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्मैया मोडेल अस्पताल हुँदै चपुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको कर्मैया मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
महोत्तरी, गौशला नगरपालिका-४ रजखोरस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरमा देउसी भैलो खेल्दै रजखोरबाट रामनगरतर्फ जाने क्रममा ट्याक्टरबाट लडेर गौशाला नगरपालिका(४ रजखोर बस्ने २२ वर्षीय अजय रानाको शनिबार राति मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
झापा, मेचीनगर नगरपालिका-१३ तेलिबारीस्थित सडकमा प्रदेश१.०४.०१४ प ३३४५ नम्बरको मोटरसाइकल र प्रदेश १.०४.००१ प ३९९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा प्रदेश.१.०४.०१४ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार मेचिनगर नगरपालिका.८ बस्ने १८ वर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सुनसरी, कोशी गाउँपालिका.८ भण्टाबारी चोकस्थित सडकमा प्रदेश न.१.०१.००१ ख ३५३० नम्बरको बसले हाल नम्बर नखुलेको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय अल्ताप मिया र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय गियासुदिन मियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल ईनरुवा हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताप्लेजुङ, मैवाखोला गाउँपालिका.४ मिल्केस्थित सडकमा प्र.१(००१ झ ०२२४ नम्बरको एम्बुलेन्स सडकदेखि अन्दाजी ६० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा एम्बुलेन्समा सवार सोही ठाउँ बस्ने १६ वर्षीया हेमकला लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक लगायत ६ जनालाई उपचारको लागि धरानतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !