तौलिहवा, माघ २७ । कपिलबस्तुमा विभिन्न स्थानहरुमा पार्किङ गरि रहेको अवस्थामा केहि दिनयता मोटरसाईकलहरु चोरी हुने घटनाहरुमा बृद्धि हुन थालेपछि चोरी नियन्त्रण विशेष अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले सो अभियान सञ्चालन गरिएको हो ।
घरमा रातको समयमा मोटरसाईकल राख्नुपर्दा सम्भव भएसम्म मोटरसाइकललाई पिल्लर वा केहि भारि÷गह्रौँ वस्तुसँग फलामको साङलोले बाँधी अड्याउन वा पछाडिको चक्कामा लाग्ने लक प्रयोग गरि राख्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो । लामो समयसम्म जथाभावि वा आफ्नो नजर नपुग्ने स्थानमा पार्किङ मोटरसाईकल नराख्न उहाँले आग्रह समेत गर्नुभएको छ । चोरीको मोटरसाईकल नियन्त्रणको लागि चोरीमा संलग्नहरुको पहिचान, अवरोध र पक्राउ गर्न नियमित चेकजाँचहरु प्रहरीले गर्दै आएको प्रहरी नायब उपरिक्षक भण्डारीले बताउनुभयो ।
विशेष गरी सार्वजनिक स्थान र सरकारी कार्यालयहरुमा रहेको पार्किङ स्थलमा सिसिटिभि क्यामेरा राख्न पहल गरिरहेको प्रहरी निरिक्षक जगन्नाथ मरासिनिले बताउनुभयो । मोटरसाईकल चोरी नियन्त्रणको लागि सबै प्रहरी कार्यालयहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नागरिकमा सचेतनामूलक कार्यक्रम मार्फत सजग गराईएको उहाँले बताउनुभयो ।
मोटरसाईकल चोरीका घटना नियन्त्रणका लागी प्रहरीले जिल्लाको वाणगंगा नगरपालिका वडा नं ७ स्थित भलवाड, जिनुवा, धनेशपुर लगायतका गाउँहरुमा आकस्मिक चेकजाँच समेत गरेको छ । सोही क्रममा २ सय २८ ओटा मोटरसाईकल ४८ ओटा मझौला सवारी साधन चेकजाँच गरेको हो । चेकजाँच क्रममा कागजात नभएको १ वटा सावरी नियन्त्रणमा लिईएको प्रहरी निरिक्षक मरासिनीले बताउनुभयो । त्यस्तै सो चेकजाँचको क्रममा त्यस क्षेत्रमा सञ्चालित मोटरसाईकल वर्कसपहरुको समेत अनुगमन गरिएको उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया !