काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आज बसेको बैठकले नागरिकता विधेयक २०७९ लाई बहुमतले पारित गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश सहित पुनर्विचारका लागि संसदमा फिर्ता पठाइएको नागरिकता विधेयक माथिको छलफलपछि विधायन समितिको आजको बैठकले प्रस्तुत रुपमा नै विधेयकलाई बहुमतले पारित गरेको हो ।
सरकारले अगाडि बढाएको नागरिकता विधेयक २०७९ लाई समितिको आजको बैठकमा समितिका सभापति नारायणदत्त मिश्रले निर्णयार्थ प्रस्तुत गर्दा समितिको बैठकले बहुमतले सो विधेयकलाई प्रस्तुत रुपमा नै पारित गरेको हो ।
विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु सहित केही सांसदले भने फरक मत राख्नुभएको थियो ।
विधेयक माथिको छलफलमा भाग लिँदै अधिकांश सांसदहरुले नागरिकता विहीन नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न यो विधेयक ल्याइएकाले समयलाई मध्यनजर गर्दै विधेयकलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले वैवाहिक अङ्गीकृतका सम्बन्धमा समयसीमा तोकेर अगाडि बढ्नुपर्ने, नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले चाहेमा नेपालको नागरिकता पाउनुपर्ने, विधेयकमा आमाको नाममा नागरिकता लिँदा आमाले बाबुको ठेगान नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने लगायतका माग राख्नुभयो ।
विधायन व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि थप छलफल गर्ने पर्याप्त समय नभएकाले संशोधनतर्फ लाग्न नसकिने धारणा राख्दै नेपाली भएर पनि अनागरिकका रुपमा बाँच्न बाध्य त्यस्ता नेपालीका लागि विधेयक चाँडो कार्यान्वयनमा ल्याउनुपर्ने खाँचो रहेको बताउनुभयो ।
गृहमन्त्री खाँणले सरकारले प्रादेशिक पहिचान सहित नागरिकता दिने र स्वघोषणाका सम्बन्धमा महिलाको सामाजिक प्रतिष्ठामा आँच आउन नदिने गरी कार्यविधि बनाउने उल्लेख गर्दै वैवाहिक अङ्गीकृतको समय अवधिका सम्बन्धमा पछि छलफल गरेर पनि सहमतिका साथ अगाडि बढ्न सकिने बताउनुभयो ।
गृहमन्त्री खाँणले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई नागरिकता दिने सवालमा भने नेपालको वर्तमान संविधानले व्यवस्था नगरेकाले संविधान संशोधन गरेर मात्रै अगाडि बढ्न सकिने बताउनुभयो ।
तपाईको प्रतिक्रिया !