तौलिहवा, माघ २० गते । कपिलवस्तु प्रहरीले अवैध २१ लाख सात हजार एक सय भारतीय रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ । अवैध भारतीय रुपियाँ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको हो । बिहीबार राति ९ बजे प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतको नेतृत्वमा खटिएका प्रहरी टोलीले कपिलवस्तु नगरपालिका–२ जमुवारपुलबाट भैरहवाको तौलिहवातर्फ आउँदै गरेको कार चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाँउपालिका–६ विमिहा बस्ने ३५ वर्षीय राजेशकुमार बर्मा, सोही स्थानका २६ वर्षीय राकेशकुमार बर्मा र गाडी चालक भारतको सिद्धार्थनगर ग्राम अनुपनगर नौगढ घर भई हाल मायादेवी गाँउपालिका–१ ईमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान रहेका छन् ।
युपी ५५ ए एम ०४५९ नम्बरको गाडीमा फल्स बटम बनाई लुकाई राखेको अवैध भारतीय रुपियाँसहित उनिहरुलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । अवैध भारतीय रुपियाँलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाउने पहल भइरहेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई वैदेशिक मुद्रा अपचलन सम्बन्धी मुद्दा चलाउनेका लागि थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
तपाईको प्रतिक्रिया !