फाइल तस्बिर
काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र जोखिममा परेको भन्दै राजनीतिक दलसँग सहकार्यको प्रस्ताव गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै शाहले देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दल र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्न नहुने बताउनु भएको छ । उहाँले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने उल्लेख गर्नु भएको छ ।
पछिल्ला वर्षमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिराचिरा पर्न थालेको भन्दै शाहले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले देशको परिस्थितिले आशा जगाउन नसक्दा हिमाल, पहाड र तराई मधेसका सबै दीनदुःखीलाई गरी खाने वातावरण बन्न नसकेको बताउनु भएको छ ।
यस्तै, शाहले शासकीय उत्तरदायित्व र गाम्भीर्यको कमी देश भित्रका विषयमा मात्र नभएर परराष्ट्र सम्बन्धमा पनि देखिन थालेको बताउनु भएको छ । नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरी कमजोर मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्क परराष्ट्र नीतिको अभ्यास गम्भीर चिन्ताको विषय भएको शाहको शुभकामना सन्देशमा भनिएको छ ।
तपाईको प्रतिक्रिया !