पर्यटनसँगै कृषि र उद्योगको विकास हुनु जरुरी : पूर्व प्रधानमन्त्री भट्टराई
तौलिहवा, मंसिर २९ गते । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्राचीन तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक रहेको बताउनुभएको छ।
तिलौराकोट दरबार क्षेत्रमा आयोजना गरिएको कपिलवस्तु विकास कोष गठनका लागि संकल्प प्रस्ताव कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। उहाँले तिलौराकोटमा भएको विभिन्न अध्ययन अनुसन्धानले विश्वको विकसित सभ्यता रहेको पुष्टि भइसकेको बताउनुभयो।
उहाँले भन्नुभयो, “इतिहासमा जुन हामीले मोहन जोदारो र हडप्पन सभ्यता बारे पढ्ने गरेका छौं, त्यो सभ्यताको हाराहरीमा तिलौराकोट नै रहेको छ। ”
उहाँले कपिलवस्तुमा रहेको ऐतिहासिक एवम् पुरातत्विक सम्पदालाई सही ढंगले प्रचार प्रचार नभएको बताउनुभयो। जुन देशले आफ्नो इतिहासप्रति गर्व गर्दैन त्यो देशको भविष्य नरहेको उहाँको भनाइ छ।
पुरातत्विक एवम् ऐतिहासिक रुपले महत्वपूर्ण रहेको कपिलवस्तुलाई ठिक ढंगले स्थापित गर्नुपर्ने उहाँले बताउनुभयो। तिलौराकोट जस्ता सम्पदा विकासका आधार र आर्थिक केन्द्र रहेको भट्टराईले बताउनुभयो। उहाँले पर्यटनसँगै कृषि र उद्योगको विकास हुनु जरुरी रहेको बताउनुभयो।
कार्यक्रममा उपस्थित सरोकारवालाले लुम्बिनी विकास कोषको कार्यक्षेत्रभित्र परेका स्थल मध्ये ७ वटा कपिलवस्तुमा परे पनि सबै विकास लुम्बिनी आसपास मात्र केन्द्रित रहेको गुनासो गरेका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, पूर्व मन्त्री बृजेश कुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खां, विजयनगर गाँउपालिकका अध्यक्ष गोपाल बहादुर थापा, शुद्धोधन गाँउपालिकाका अध्यक्ष कमलेश शरण चौधरी लगायतको सहभागिता रहेको थियो।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













